झापा / झापाको व्यावसायिक सहर बिर्तामोडमा औद्योगिक व्यापार महोत्सव हुने भएको छ । विर्तामोड उद्योग वाणिज्य सङ्घको अग्रसरतामा फागुन ५ गतेदेखि सुरु हुने गरी बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव आयोजना गर्न लागिएको हो ।
आज सङ्घले पत्रकार सम्मेलन गरी महोत्सवको प्रारम्भिक तयारीबारे जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक राजु न्यौपानेले देशव्यापी आर्थिक संकट र मन्दीका बीच व्यावसायिक क्षेत्रको विकासका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
फागुन १५ सम्म हुने महोत्सवमा २५० स्टल रहने बताइएको छ । तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ४५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा भारत, बङ्गलादेश र पाकिस्तानका उद्यमी पनि सहभागी हुने संघका अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी दिनुभयो ।
महोत्सवलाई व्यवसायीले प्रचारका रुपमा लिने बताउँदै संघका महासचिव अर्जुन मैनालीले महोत्सव सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो ।
प्रतिक्रिया