निर्जीवन बीमकसँग बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया

शुक्रबार, ०६ माघ २०७९, ०७ : ४३

काठमाडौँ / नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पाँच वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्ने परिकल्पनाका साथ काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । 

नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बिहिबार निर्जीवन बीमकसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरूलाई निर्देशन दिए । 

अध्यक्ष सिलवालले भने, “बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ । बीमा अभिकर्ता बीमा कम्पनीले छान्ने भएकाले ती विषयमा कम्पनीहरूले ध्यान दिनुपर्छ, बीमा अभिकर्ताले कम्पनीलाई बजारमा स्थापित गर्न सक्नुपर्छ, कम्पनीहरूले परिमाणभन्दा गुणस्तरमा ध्यान दिनुपर्छ ।”

हालै भएको विमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, “ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरूको बीमा गराउनका लागि बीमा कम्पनीहरूबाट पनि प्रयास हुनुपर्‍यो, कम्पनीहरूले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरूको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्‍यो, त्यसका लागि कर्मचारीहरूले पनि व्यवस्थापनसँग माग गर्नुपर्‍यो, कर्मचारीहरूको दक्षतालाई सूचना प्रविधिमा आबद्ध गरी विकसित गर्नुपर्‍यो ।”


नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारबाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको बताए। 

नेपाल बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अलग गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट गरेका छन्।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भुप्रसाद मिश्रले बीमा अभिकर्ता व्यवस्थापनका लागि प्राधिकरणबाट सञ्चालनमा ल्याउन लागिएको अनलाइन प्रणालीका बारेमा प्रस्तुती गर्दै बीमा कम्पनीहरूमा बीमा अभिकर्ता नदोहोरिने गरी छनौट गर्नका लागि प्राधिकरणको अनलाइन प्रणालीमा अनिवार्यरुपमा स्थायी लेखा नम्बर ९पान० इन्ट्री गर्नुपर्ने प्रावधान राख्न लागिएको जानकारी दिए।

कार्यक्रममा निर्जीवन बीमा कम्पनीहरूका बीमा अभिकर्ता शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

शुक्रबार, ०६ माघ २०७९, ०७ : ४३

प्रतिक्रिया