रुपन्देहीमा सेवाग्राहीको सुविधाका लागि टाइम कार्ड लागू

१ बर्ष अगाडि

काठमाडौँ-  जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सेवाग्राहीको सुविधाका लागि बिहीबारदेखि टाइम कार्ड लागू गरेको छ ।

 सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालयद्वारा सम्पादन गरिने सेवामा सहजता होस् भन्दै टाइम कार्ड लागू गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । अहिलेलाई कार्यालयबाट सम्पादन हुने चार सेवा नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि टाइम कार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जनाए ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने र तोकेकै समयभित्र सेवाग्राहीलाई सेवा दिने गरी टाइम कार्ड लागू भएको प्रजिअ पाण्डेले जनाए । यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौं, तर सेवाग्राहीले कतिबेला काम सम्पन्न हुन्छ भन्ने अन्योलता भइरहने र दिनभरिजसो कार्यालयमा बसिरहनु पर्ने हुन्थ्यो ।

तर अब टाइम कार्ड लागू भएपछि सबै प्रकृया पुर्‍याई आएका कागजातलाई निश्चित समय नै तोकेर बोलाइने हुँदा सेवाग्राहीलाई सहज हुने प्रजिअ पाण्डेको भनाइ छ । अब जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले सबै प्रकृया पुर्‍याई आएका कागजात बुझाएपछि एउटा कार्ड पाउनेछन् जुन कार्डमा सेवा उपलब्ध हुने कोठा र बोलाइने समय हुन्छ, सोही कार्डको आधारमा सेवाग्राही सेवा लिन कार्यालय पुगे हुन्छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकताको हकमा सबै प्रकृया पुर्‍याए १२ बजेभित्र पेस भएका निवेदकलाई १ बजेभित्र र दिउँसो १२ बजेदेखि ३ बजेसम्म पेस हुन आएका निवेदकलाई ४ बजेभित्र नागरिकता प्रदान गरिने बताए । नागरिकता प्रतिलिपिको हकमा प्रमाण पुर्‍याएर पेस भएका निवेदकलाई अभिलेख भिडेको १ घण्टाभित्र प्रतिलिपि दिइने छ ।

यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचयपत्रका लागि आएका निवेदकले पनि १ घण्टाभित्रै सेवा पाउने अर्यालले दाबी गरे । ई–पासपोर्टका लागि आउने सेवाग्राही प्रि–इनरोलमेन्टको फाराम भरेर आएकाको तोकिएको दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई–पासपोर्टहरू टोकन प्रणालीअनुसार सोही दिन समय तोकेर वितरण हुने अर्यालले बताए । सेवाग्राहीका लागि टाइमकार्ड लागू गरे पनि गर्भवती महिला, अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई भने टाइम कार्ड नचाहिने कार्यालयले जनाएको छ ।

यस्ता सेवाग्राहीको हकमा सोझै फाँटमा तोकिएको कर्मचारीलाई भेटेर सेवा लिन सकिने बताइएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दैनिक १ सय बढी नयाँ नागरिकता, ८० बढी प्रतिलिपि, २ सय जनाभन्दा बढीको राष्ट्रिय परिचयपत्र बन्ने गरेको छ । त्यस्तै २ सय ५० बढी ई–पासपोर्टको आवेदन बुझिने र सोही आधारमा फोटो खिच्ने र वायोमेट्रिकको कार्य हुने तथा दैनिक सरदर २ सय ५० राहदानी वितरण हुने गरेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया