काठमाडौँ / उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताउनुभएको छ ।
कृषि विकास बैङ्क लिमिटेडको ५६ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समीक्षा गर्नुपर्ने समयमा समेत पुँजीगत खर्च १४–१५ प्रतिशत मात्रै हुनु, राजस्व परिचालनमा चालू आर्थिक वर्षको लक्ष्य भेटाउन नसक्नुले मुलुकको आर्थिक क्षेत्र सुधारका लागि चुनौती खडा भएको बताउनुभएको हो ।
गत वर्ष यही समयमा राजस्व परिचालन भन्दा पनि यस वर्ष झन् पछाडि परेको उहाँको भनाई छ । आर्थिक दृष्टिकोणले खडा भएको चुनौती सामना गदै आर्थिक सामर्थ्य राम्रो बनाउने अभियानमा सरकारलाई सबैको साथ चाहिएको उहाँले बताउनुभयो । अर्थमन्त्री पौडेलले खर्च कटौती र मितव्ययिताका लागि कृषि विकास बैङ्कको साथ पाउने जिकिर गर्नुभयो ।
कार्यक्रममा राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले प्रतिस्पर्धात्मक क्षमता बढाउनका लागि बैङ्कले गर्नुपर्ने धेरै काम बाँकी रहेको बताउनुभयो । उहाँले कृषिको आधुनिक बजारमा बैङ्कले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया