छ महिना आयात–निर्यात दुवै घट्यो

१ बर्ष अगाडि

काठमाडौँ / चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घटेको छ।

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको सोही अवधिमा २० दशमलव ६८ प्रतिशतले कमी आई सात खर्ब ९२ अर्ब ६६ करोड ६२ लाख ८९ हजार रुपियाँको आयात भएको छ। गत वर्ष सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख आठ हजार रुपियाँको आयात भएको थियो। 

पुस महिनामा मात्रै एक खर्ब २७ अर्ब ९१ करोड ९८ लाख ३९ हजार रुपियाँको सामान आयात भएको छ। मङ्सिर महिनामा एक खर्ब ३२ अर्ब ५५ करोड रुपियाँको सामान आयात भएको थियो। मङ्सिरको तुलनामा पुसमा आयात पाँच अर्ब रुपियाँले घटेको हो । 

अघिल्लो आर्थिक वर्षको साउनदेखि पुससम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा निर्यातमा ३२ प्रतिशतले कमी आई ८० अर्ब ८० करोड ७४ लाख २१ हजार रुपियाँको सामान निर्यात भएको विभागको तथ्याङ्क छ। गत वर्ष सो अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९६ लाख रुपियाँ बराबरको सामान निर्यात भएको थियो। 

आयातमा कमी आएसँगै व्यापार घाटा १९ दशमलव १५ प्रतिशतले कमी आई सात खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार रुपियाँ पुगेको छ। अघिल्लो वर्ष सो अवधिमा व्यापार घाटा ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख ६८ हजार रहेको थियो। 

विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले आयातमा प्रतिबन्ध लगाएसँगै आयात–निर्यात दुवैमा कमी आएको हो। आयातमा लगाइएको प्रतिबन्ध पुस १ गतेदेखि पूर्ण रूपमा खुला भएको छ। 

कुल वैदेशिक व्यापार २१ दशमलव ८९ प्रतिशतले कमी भई आठ खर्ब ७३ खर्ब ४७ करोड ३७ लाख १० हजार रुपियाँको रहेको छ भने यो छ महिनामा वस्तु आयातबाट एक खर्ब ८२ अर्ब ८४ करोड ८२ लाख रुपियाँको राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ। 

विभागका अनुसार छ महिनाको अवधिमा एक खर्ब ४३ अर्ब ७८ करोड ४० लाख ८३ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यस्तै ६३ अर्ब ६६ करोड ३५ लाख रुपियाँको आइरन स्टिल, २७ अर्ब ९१ करोड ८२ लाख २४ हजार रुपियाँ बराबरको खाद्यान्न आयात भएको छ। 

नेपालको व्यापार भारतसँगै सबभन्दा धेरै रहेको छ। छ महिनाको अवधिमा भारतबाट चार खर्ब ८६ अर्ब ३३ करोड ३९ लाख १८ हजार रुपियाँको आयात हुँदा ५७ अर्ब ८४ करोड ४६ लाख ५९ हजार रुपियाँको निर्यात भएको तथ्याङ्क छ। भारतसँग मात्र व्यापार घाटा चार खर्ब २८ अर्ब ४८ करोड ९२ लाख ५९ हजार रुपियाँ रहेको छ। 

यस्तै सो अवधिमा चीनबाट एक खर्ब नौ अर्ब ९७ करोड ८७ लाख रुपियाँ बराबरको आयात हुँदा ३४ करोड ११ लाख रुपियाँको निर्यात भएको तथ्याङ्क छ। चीनसँग व्यापार घाटा एक खर्ब नौ अर्ब ६३ करोड ७५ लाख ९९ हजार रुपियाँ रहेको छ। नेपाललले १४८ देशसँगै वैदेशिक व्यापार गरेकामा २९ मुलुकसँग व्यापार नाफा र ११९ मुलुकसँग व्यापार घाटा रहेको छ।   

१ बर्ष अगाडि

प्रतिक्रिया