असोजयता प्रतिबोरामा पाँच सयले बढ्यो चामलको भाउ

मंगलबार, १० माघ २०७९, ०९ : ४४

काठमाडौँ / चामलको नयाँ सिजन सुरु हुँदा पनि भाउ घटेको छैन । हरेक वर्ष चामलको नयाँ सिजन सुरु भएपछि चामलको भाउ घट्दै आएको पाइन्छ, तर यस वर्ष भने भाउ घट्नुको सट्टा भाउ बढ्दै गएको खुद्रा व्यापारी बताउँछन्। 


गत असोज यता चामलको मूल्य प्रतिबोरा पाँच सय रुपियाँसम्म बढेको छ । विगतका वर्ष नयाँ धान आउँदा प्रतिबोरा चार सय रुपियाँसम्म घटेर आउने गरेकामा यस पटक भने भाउ बढेर आएको छ । 

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गएको असोजयता प्रतिबोरामा पाँच सय रुपियाँसम्म बढेको छ । सबैभन्दा सस्तो सोना मनसुली चामल प्रतिकेजी ६५ रुपियाँ रहेको छ भने सबभन्दा महँगो लङग्रेन बासमती चामल प्रतिकेजी १६० रुपियाँ रहेको छ । जिरा मसिनो चामल प्रतिकेजी ९०–९५ रुपियाँ रहेको जनाएको छ । 
कृषि तथा पशुपन्छी मन्त्रालयको तथ्याङ्कको अनुसार यो वर्ष देशभर ५४ लाख मेट्रिक टन धान उत्पादन भएको छ । जब कि नेपालको माग पूरा गर्न प्रत्येक वर्ष ६८ लाख मेट्रिक टन धान आवश्यक हुन्छ । नेपाललाई हेर्दा १४ लाख मेट्रिक टन मात्रै अपुग भए पनि भन्सार विभागको तथ्याङ्कले भने हरेक तीन महिनामा चार अर्ब रुपियाँको चामल नेपालमा आयात भएको देखिएको छ ।

भन्सार विभागका अनुसार धान, चामल र कनिका आयात भने घटेको छ। चालू आर्थिक वर्षको छ महिनामा आठ अर्ब ८९ करोड ९२ लाख ६९ हजार रुपियाँ बराबरको चामल आयात भएको छ। यस्तै सो अवधिमा नौ अर्ब ७३ करोड ४९ लाख १० हजार रुपियाँको धान र २८ करोड २७ लाख ८८ हजार रुपियाँको कनिका आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।
भारत बाट आयात भएको चामलको मूल्य नघट्नाले चामलको मूल्य बढ्दै आएको देखिन्छ । 
 

मंगलबार, १० माघ २०७९, ०९ : ४४

प्रतिक्रिया