सूर्य नेपाल एनपिजिए म्याच प्ले आजदेखि

मंगलबार, १० माघ २०७९, १० : ००

काठमाडौं / सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले आजबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० औं वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् । मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ । फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।

 

प्रतियोगिताको पहिलो चरणमा शीर्ष वरीयताका शुक्रबहादुर राईले २० औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् । दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औं वरीयताका सन्जोक मोक्तान खेल्नेछन् । त्यस्तै पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, संजय लामाले रमेश अधिकारी, दीनेश प्रजापतिले सूर्य प्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।

 

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तिर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् ‌।

 

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् । क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

मंगलबार, १० माघ २०७९, १० : ००

प्रतिक्रिया