‘नीतिगत फड्को मार्दै यथार्थपरक बजेट ल्याउनु अहिलेको आवश्यकता’

१ बर्ष अगाडि

काठमाडौँ - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र चालु आवको बाँकी अवधिका लागि बजेट खर्च गर्दा सरकारको क्षमता र आवश्यकता हेरेर अघि बढ्ने बताउनुभएको छ ।

आर्थिक मिडिया सञ्चालक सङ्घ नेपाल (इमान) ले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रका चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री पौडेलले आगामी आवको बजेट निर्माणको काम सुरु भइसकेको र सरकारले नीतिगत फड्को (पोलिसी डिपार्चर) लाई केन्द्रमा राख्दै वास्तविकतामा आधारित बजेट ल्याउने बताउनुभयो ।

“आगामी आवको स्रोतको अनुमान र बजेटको आकार माथि छलफल सुरु भइसकेको छ । अहिलेकै अवस्थामा अघि बढ्ने नभई पोलिसी डिपार्चर आवश्यक छ भनेर विभिन्न क्षेत्रबाट सुझाव आइरहेका छन् । “त्यसमा विशेष ध्यान दिएर बजेटको आकारमा यथार्थपरकता खोज्नेछौँ”, उहाँले भन्नुभयो ।

बजेट खर्चमा मात्र नभई राजस्व सङ्कलन पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्नुहुँदै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्ने बताउनुभयो । त्यस्तै आगामी आवको बजेटमा पूर्वतयारी सकिएका आयोजनालाई मात्रै प्राथमिकता दिने पनि पौडेलले बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारोन्मुख हुँदै जाँदा राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै जाने बताउनुभयो ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले पुँजीगत खर्च बढाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभयो । नेपालमा वैदेशिक लगानी भित्र्याउन लगानीको वातावरण सहज बनाउनुपर्ने र कार्यान्वयनयोग्य परियोजना छनोटमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले नेपालको आर्थिक अवस्था शिथिल अवस्थामा पुग्नुका पछाडि अनेकौँ कारण रहेको बताउनुभयो । नेपालमा आन्तरिक उत्पादन बढाउनका लागि लागत बढी रहेको र आयात रोक्दा राजस्व नउठ्ने समस्या रहेको गोल्छाको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्था परिसङ्घका अध्यक्ष पवन गोल्यानले बैङ्कको ब्याजदर उच्च हुँदा ठूला ऋणी निकै ठूलो समस्यामा परेको बताउनुभयो ।

१ बर्ष अगाडि

प्रतिक्रिया