काठमाडौं - अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९–८० को बजेटको आकार घटाउने तयारी थालेका छन् ।तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् ।
अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो ।
‘विगतमा पनि बजेटको आकारदेखि लक्ष्यसम्म पुनरवलोकन गरिएको थियो, अहिले पनि घटाइँदै छ,’ स्रोतले भन्यो । यस आवको मङ्सिरमा चुनाव थियो ।चुनावका कारण चालू बजेट अधिकतम खर्च भए पनि विकास बजेट खर्च हुन सकेको छैन । सरकारले ल्याएको पूँजीगततर्फको बजेटमध्ये अहिलेसम्म १६ दशमलव १३ प्रतिशत मात्रै खर्च भएको छ ।
त्यसो त आगामी वर्षको बजेटसमेत अहिलेको भन्दा कम आकारको ल्याउन सरकारलाई योजना आयोगले सिफारिश गरेको छ । सोहीअनुसार अधिकारीहरूले बजेट बनाउन थालिसकेका छन् ।
आगामी बजेट घट्ने अर्थमन्त्री पौडेलले समेत बताएका छन् । बुधवार राजधानीमा भएको एक कार्यक्रममा मन्त्री पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास नदोहोर्याउने बताए । ‘ठूलो आकारको बजेट ल्याउने विगतको अभ्यास छ । तर, हामी त्यस्तो पक्षमा छैनौं ।अर्थतन्त्रको संरचनागत परिवर्तन गर्नेमा हाम्रो जोड रहनेछ,’ उनले भनेका छन् ।
विगतदेखि नै बजेट ठूलो आकारको ल्याउने तर कार्यान्वयन कमजोर हुँदा सरकारी अधिकारीको क्षमतामा प्रश्न उठाउने गरिएको छ ।मध्यकालीन खर्च संरचनाअनुसार आगामी वर्ष १९ खर्बको बजेट सरकारले ल्याउनुपर्ने हो तर त्यसअनुसार बजेट बनाउन राष्ट्रिय योजना आयोगले अनुमति दिएको छैन ।यो खबर आजको आर्थिक अभियान दैनिकमा छ ।
प्रतिक्रिया