कृषिजन्य आयात रोक्न सरकार तयार छ : कृषिमन्त्री शाह

१ बर्ष अगाडि

चितवन - कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वाला कुमारी शाहले कृषि क्षेत्रको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालको तेस्रो साधारण सभा तथा अधिवेशनमा उहाँले कृषि क्षेत्रमा देखिएको समस्या समाधानका लागि आयात प्रतिस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आयात रोक्न नाकाहरूमा प्रयोगशाला र चेकजाँचको माध्यमबाट सरकार कडाइका साथ लाग्छ । यसका लागि सरकार तयार छ ।’

सबैभन्दा बढी समस्या कृषि क्षेत्रमा रहेको भन्दै उहाँले किसानका समस्या समाधानका नीतिगत रुपमा समेत काम गर्ने बताउनुभयो । किसानलाई राहत हुने गरी सरकारले काम गर्ने बताउँदै उहाँले कृषिजन्य उपजमा बिचौलिया नियन्त्रणका लागि सरकारले खरिद विक्रीमा अनुमतिपत्रको व्यवस्था गर्ने बताउनुभयो ।

कृषि क्षेत्रमा लगानी अनुसार मूल्य नपाउँदा युवा विदेशिनु परेको भन्दै उहाँले यसको नियन्त्रणका लागि स्वदेशमै युवालक्षित कृषि कार्यक्रम ल्याउने सरकारको योजना रहेको बताउनुभयो ।

कार्यक्रममा किसानहरूले तत्काल कृषि परिचयपत्र दिलाउनुपर्ने, दूधको मूल्य र वास्तविक किसानलाई उत्पादनको आधारमा अनुदान र सहुलियत ऋण उपलब्ध गराउनुपर्ने, नियमित सञ्चालनमा नरहेका कृषि फार्मलाई अनुदान र सहुलियत बन्द गर्नुपर्ने तथा कृषिजन्य वस्तुको आयात रोक्दै दानाको मूल्य घटाउनुपर्नेमा जोड दिनुभएको थियो ।

किसान संघका केन्द्रिय अध्यक्ष गणेश तिमिल्सीना, नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगाले, समाजका अध्यक्ष आनन्द न्यूरे, सल्लाहाकार भेषराज पाण्डे, समाजका प्रवक्ता हरि अधिकारी लगायतले राज्यले किसान आयोगलाई संवैधानिक आयोगको मान्यता दिँदै समस्या समाधान गर्नुपर्ने माग राख्नुभएको थियो ।

माघ २३ गतेसम्म सञ्चालन हुने अधिवेशनले चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने छ । प्रदेश संयोजकसहित ९९ सदस्यीय नयाँ नेतृत्व चयन अधिवेशनले गर्ने छ । समाजको ३२ जिल्लामा शाखा रहेका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया