नविता र विनेश विजेता : अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता

आइतबार, २२ माघ २०७९, १४ : ५५

काठमाडौँ- विनेश खनियाँ र नविता श्रेष्ठले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि शनिबार जितेका छन्।

नेपाल पुलिस क्लबका खेलाडीद्वय विनेश पुरुष र नविता महिला सिंगल्समा च्याम्पियन हुन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा विनेशले भारतको ग्लोबल टेबलटेनिस एकेडेमीका सन्तोषकुमार रमेशलाई ७–११, ११–५, ११–९, १५–१३, १०–१२ र ११–३ को सेटमा पराजित गरे।

भारतको वाइल्ड कार्डका प्रशन्न कुमार र ग्लोबलका भ्रिसिन बभनका तेस्रो भए। ललितपुर जिल्ला टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा ९ पटककी राष्ट्रिय च्याम्पियन नवीताले कान्तिपुर भ्याली पिङपोङ क्लबकी रविना महर्जनलाई ११–२, ११–३, ११–३ र ११–५ को सोझो सेटमा हराइन्।

पुलिसकी एलिना महर्जन र कान्तिपुरकी दिया देउला तेस्रो भए। विभिन्न सात स्पर्धा समावेश प्रतियोगिताको टिम इभेन्टतर्फ पुरुषमा ग्लोबल तथा महिलामा पुलिसले स्वर्ण जितेका थिए। पुरुषरमहिला सिंगल्स तथा टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार पाए।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यलगायतले पुरस्कृत गरे। सो अवसरमा चार पटकका राष्ट्रिय च्याम्पियन टेबलटेनिस पूर्वखेलाडी दिगम्बरमान सुवाललाई ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो।

सो अवसरमा मिस नेवा सलिना महर्जन पनि सम्मानित भइन्। पाँच दिने प्रतियोगितामा दुई सय पुरुष र ५६ महिला गरी २ सय ५६ खेलाडी सहभागी थिए।  

आइतबार, २२ माघ २०७९, १४ : ५५

प्रतिक्रिया