आज प्रणय दिवस : ‘रानीमहल’मा तानसेन नगरपालिकाको विशेष कार्यक्रम

मंगलबार, ०२ फागुन २०७९, ०९ : १०

पाल्पा - प्रणय दिवसको अवसर पारी तानसेन नगरपालिकाले आज ‘रानीमहल’मा  विशेष कार्यक्रम गर्दै छ । प्रणय दिवसको अवसरमा प्रेमजोडीहरुले विभिन्न उपहार आदान प्रदान गरी माया साटासाट गर्ने चलन छ । प्रेम दिवसको अवसरमा प्रेमको प्रतीक रानीमहल पुग्ने २५ जोडीलाई तानसेन नगरपालिकाले सम्मानसहित गुलाबको फुल खाजा, खाना तथा बासको व्यवस्थापन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो । 

नगरपालिकाले तानसेन नगर पर्यटन विकास उपसमिति मार्फत् युगल जोडीहरूको भव्य स्वागतको तयारी गरेको छ । तानसेन नगरपालिकाको स्वामित्वमा रहेको रानी महललाई प्रेमको प्रतीकको रुपमा लिने गरिन्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको निधनपछि भावबिहोल भई रानीको सम्झनामा वि. सं १९५० मा रानी महलको शिलान्यास गरि चार वर्षमा रानी महलको निमार्ण सम्पन्न गराएका थिए । राजा र रानीको प्रेमको प्रतिको रुपमा निमार्ण गरिएको रानी महललाई अहिले पनि प्रेमको स्वरूपमा हेरिने गरिन्छ ।

आज रानीमहल क्षेत्रमा हजारै प्रेमील जोडीहरू प्रेम साटासाट गर्न र आफ्नो प्रेम सम्बन्ध दिगो बनाउन पुग्ने गर्दछन् । राजा र रानीको जस्तै प्रेमील जोडीको रुपमा हेर्न चाहने जोडीहरू आजको दिन रानीमहल पुग्ने गर्दछन् । 

प्रणय दिवसका अवसरमा देशका विभिन्न स्थान तथा सार्वजनिक पार्क तथा उद्यानहरू आज प्रेमजोडीले भरिभराउ हुन्छन्। नेपालमा पछिल्लो समय प्रणय दिवस मनाउने चलन निकै बढेर गएको छ। 

मंगलबार, ०२ फागुन २०७९, ०९ : १०

प्रतिक्रिया