इरानी कम्पनीसँगको सम्झौता रद्द

विहीबार, ०४ फागुन २०७९, १२ : ५०

काठमाडौँ - भेरी बबई बहुउद्देश्यीय आयोजनाले इरानी कम्पनी महब घोड्स कन्सल्टिङ इन्जिनीयरिङ (एमजीसीई)सँग सम्झौता रद्द गरेको छ ।

 कम्पनीले शर्तअनुसार काम पूरा नगरेपछि आयोजनाले सम्झौता रद्द गरेको जनाएको छ ।

 अमेरिकी सरकारको कालोसूचीमा परेपछि एमजीसीई आयोजनाबाट पन्छिन खोजेको थियो । कम्पनीलाई अमेरिकी कोष विभागअन्तर्गत विदेशी सम्पत्ति नियन्त्रण कार्यालयले प्रतिबन्ध सूचीमा राखेको थियो ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनीयर (सीडीई)लेखनाथ सुवेदीले परामर्शदाताको रूपमा काम गरिरहेको कम्पनीले सम्झौताका शर्त पालना नगर्दा आयोजनाको काम प्रभावित हुन पुगेको बताए । ‘कम्पनीले काम नगर्दा आयोजना नै प्रभावित हुने अवस्था सिर्जना भयो,’ उनले भने, ‘अब फास्ट ट्रयाकबाट नयाँ परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउन लागिएको छ ।’

 सीडीई सुवेदीका अनुसार इरानी कम्पनीले नेपालका बैंकमा खाता खोल्न र काम गरेको रुपैयाँको भुक्तानी दाबी गर्न सकेको छैन । ‘बिल रकम समेत दाबी गर्न आएको छैन, सम्झौता रद्द गर्नुपूर्व काम गर्न नसक्नुको स्पष्ट जवाफ पनि दिएन,’ उनले भने । 

अमेरिकी प्रतिबन्ध सूचीमा परेपछि कम्पनीले बैंक खाताबाट साढे ३ करोड रकम निकाल्न समेत पाएको छैन । जसले गर्दा कम्पनीले नेपालका कुनै पनि बैंकमा खाता खोल्न पाएको छैन भने नेपाल बैंक लिमिटेडमा रहेको खाताबाट रकम निकाल्न नपाउँदा कर्मचारीहरूले १ वर्षदेखि पारिश्रमिक पाएका छैनन् । एमजीसीईले भेरी बबई आयोजनामा नेपालको इन्जिनीयरिङ कन्सल्टेन्सी फर कन्स्ट्रक्टिभ डेभलपमेन्ट इफोर्ट इन नेपाल (इकोकोडी) सँग मिलेर काम गरिरहेको थियो ।

 

विहीबार, ०४ फागुन २०७९, १२ : ५०

प्रतिक्रिया