चितवन - सहरी विकासमन्त्री विक्रम पाण्डेले निर्माण व्यवसायीहरूमा एकता र एकरूपताको खाँचो रहेको बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २९औँ वार्षिक साधारण सभामा उहाँले व्यवसायीहरूलाई एक भएर समयमा राम्रो काम गर्न निर्देशन दिनुभयो ।
व्यवसायी एकजुट हुन नसक्दा निर्माण व्यवसायीको समस्या समाधान हुन नसकेको बताउँदै उहाँले अहिले साना व्यवसायीमा समस्या देखिएको बताउनुभयो । समयमा गुणस्तरीय काम गरे राज्यले सहयोग गर्ने विश्वास दिलाउँदै उहाँले गुणस्तरीय काम गर्न र समयमा काम सक्न निर्देशन दिनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले व्यवसायी आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । विश्वमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि देखिएको बताउँदै उहाँले प्रदेश सरकारले चालु पुँजीमा ३० प्रतिशत कटौती गरेको जानकारी दिनुभयो ।
निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐनलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो । सरकारले हरेक पटक ऐन परिवर्तन गर्दा आफूखुसी गर्ने भएकाले समस्या बढ्दै गएको उहाँको भनाइ छ । कोभिड र रुस–युक्रेनको युद्धका कारण निजी क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो ।
प्रतिक्रिया