एसियन क्रसकन्ट्री च्याम्पियनसिप आयोजना हुने

१ बर्ष अगाडि

काठमाडौं - नेपाल एथलेटिक्स संघले १६औँ संस्करणको एसियन क्रसकन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना गर्ने भएको छ । संघले एसियन एथलेटिक्स एसोसियसनको सहयोगमा यही फागुन २३ गते गोकर्णमा च्याम्पियनसिप आयोजना गर्न लागेको हो ।

उकालो, ओरालो र कच्ची सडकहरूलाई समेटेर तयार पारिएको कोर्षमा सञ्चालन हुने यसप्रकारको प्रतियोगिता करिब २४ वर्षअगाडि सन् १९९९ मा नेपालले आयोजना गरेको थियो । दोस्रो पटक नेपालले आयोजना गर्न लागेको च्याम्पियनसिपमा नेपालीसहित एसियाका करिब ४५ राष्ट्रका चार सय ५० जना खेलाडीहरू सहभागी हुने संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट रिसोर्ट परिसरमा सञ्चालन हुने प्रतियोगितामा सिनियर पुरुष र महिला १० किमि, २० वर्षमुनिका जुनियर पुरुषतर्फ आठ किमि। र २० वर्षमुनिका जुनियर महिलातर्फ छ किमिका कुल चार विधामा व्यक्तिगत र टिम इभेन्टसहरूमा प्रतिस्पर्धा हुनेछ । एउटा टिममा पूर्ण कोटामा पाँच जनासम्म खेलाडी राख्न पाइनेछ । तर, आयोजकले तीन जना खेलाडीका लागि मात्र खर्च व्यहोर्ने संघले जनाएको छ ।

संघले यस प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न मूल आयोजक समिति, सचिवालय टिमसहित विभिन्न सातवटा समितिहरू समेत गठन गरेको जानकारी दिएको छ । यो प्रतियोगिता आयोजना गर्न करिब तीन करोड ६५ लाख ५५ हजार रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया