काठमाडौँ - नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०७९ का अवसरमा नेपाल सरकारबाट सम्मानित भएका आफ्ना सदस्यलाई फेरि सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा १६ जना (संस्था तथा व्यक्ति)लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये ४ वटा सरकारी लगानी रहेका कम्पनी छन् भने १२ वटा निजी एवं सार्वजनिक क्षेत्रका छन् । १२ मध्ये ८ जना नेपाल उद्योग परिसंघका सदस्य हुन् ।
आर्थिक वर्ष २०७७र०७८ मा निर्यात कारोबारमध्येबाट सबैभन्दा बढी कर तिर्ने करदाता शिव शक्ति घ्यू उद्योग प्रा।लि, विशेष उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने राजेश मेटल क्राफ्टस प्रा।लि।, कृषि एवं पशुपन्छीजन्य उद्योगमध्येबाट सबैभन्दा बढी कर तिर्ने ओ.सि.बी.फुड्स एण्ड फिड्स प्रा।लिलाई परिसंघले सम्मान गरेको हो ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्येबाट सबैभन्दा बढी कर तिर्ने नबिल बैंक, पर्यटन व्यवसायमध्येबाट सबैभन्दा बढी कर तिर्ने मनकामना दर्शन प्रा.लि.रेमिटेन्स तथा मनि ट्रान्सफरमध्येबाट सबैभन्दा बढी कर तिर्ने आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने विजयकुमार शाह, सबैभन्दा बढी कुल आन्तरिक राजस्व दाखिला गर्ने सूर्य नेपाल प्रा।लि।लाई परिसंघले सम्मान गरेको छ ।
परिसंघ अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च कर तिर्ने परिसंघका सदस्यहरुलाई सम्मान गरेका हुन् । उनले सरकारबाट सम्मानित उच्च करदातामा निजी क्षेत्रमध्येबाट करिब ७० प्रतिशत परिसंघ सदस्यहरु रहेकोमा परिसंघले गर्व महसुस गरिरहेको बताए । उच्च करदाता हुनु व्यक्तिगत उपलब्धी मात्रै नभएर राज्यप्रतिको महत्वपूर्ण योगदान पनि भएको उनले बताए । अधयक्ष अग्रवालले आगामी वर्षमा समेत परिसंघ सदस्यहरु सरकारबाट सम्मानित हुँदै जाने विश्वास एवं शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ मा व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिरेका परिसंघ गभर्निङ काउन्सिलका सदस्य विजयकुमार शाहले कोभिड महामारी, तरलताको अभाव, चुनौतीपूर्ण अर्थतन्त्रका बाबजुद सरकारलाई उच्च कर बुझाउन सकेकोमा आफूले गौरव महसुस गरिरहेको बताए । सम्मान गर्ने सरकार एवं परिसंघलाई उनले धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया