काठमाडौँ– आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आजबाट साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले आज फागुन ११ गतेबाट सर्वसाधारण लगानीकर्ताका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको हो ।
लघुवित्तले जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने दुई करोड तीन लाख ३८ हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका सेयर निष्कासन गरेको हो । कम्पनीले दुई लाख तीन हजार ३८० कित्ता सेयर निष्कासन गरेको छ । सर्वसाधारणले भने एक लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा यही १५ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै मेरोसेयर खातामार्फत आवेदन दिन सक्नेछन् ।
आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा छ । लेखापरीक्षण भइसकेको वास्तविक वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ३७१ रुपैयाँ ८२ पैसा छ ।
कम्पनीको पहिलो सेयर कारोबार एक हजार रुपैयाँभन्दा बढीमा हुने देखिन्छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत कम्पनीलाई पहिलो कारोबारका लागि वास्तविक नेट्वर्थको तीन गुणासम्म मूल्य रेन्ज तोक्ने गर्छ ।
प्रतिक्रिया