आजदेखि धरानमा बुढासुब्बा गोल्डकप, ‘ए’ डिभिजन क्लबहरू सहभागी नहुने

१ बर्ष अगाडि

धरान - मोफसलको लोकप्रिय प्रतियोगिता बुढासुब्बा टुबोर्ग गोल्डकपको २३औँ संस्करण भोलिदेखि धरान–१६ स्थित रङ्गशालामा सुरु हुँदैछ । 

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको छ । उद्घाटन समारोहमा ब्रिटिस गोर्खा ब्रिगेड ब्यान्डको ९० जनाको टोलीले विशेष प्रस्तुति दिने अध्यक्ष राईले जानकारी दिनुभयो ।   

    प्रतियोगिताको उद्घाटन खेल आयोजक धरान र युकेएफसी भारतबीच हुने तालिका छ ।  प्रतियोगितामा आयोजक धरान, युकेएफसी भारत, केबिपिएस बङ्गलादेश, एभेनियर एफसी क्यामरुन, नेपाल पुलिस क्लब काठमाडौँ, बागमती युवा क्लब सर्लाही, केएफटिसी झापा र एन्फा मोरङ गरी कूल आठ टोलीको सहभागिता रहेको छ । 

    नेपालको ‘ए’ डिभिजन क्लबहरू मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, सङ्कटा क्लब, पोखराको सहारालगायत क्लबको भने यस पटक धरानमा उपस्थिति नहुने भएको छ । आयोजकले यस पटक उनीहरूलाई नबोलाएको बताएको छ । 

    बाइसौँ संस्करणको बुढासुब्बा टुबोर्ग गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको थियो । विसं २०७६ फागुन १७ गते भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको थियो । २०७६ पछि कोरोनाका कारण प्रतियोगिता हुन सकेको थिएन ।

    यसपालि पहिलो पटक कोड आइटीसँग सहकार्य गरेर प्रतियोगिताको एप्स बनाएर अनलाइन टिकट काट्न सकिने र खेलहरूको सबै जानकारी दिइने पनि आयोजक क्लबले जनाएको छ । 

    फागुन २० गतेसम्म हुने प्रतियोगिताको फाइनल विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाख पाउनेछ । उत्कृष्ट खेलाडीले रु एक लाख पाउनेछ । 

    खेल हेर्न ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक र अपाङ्ग बालबाालिकाका लागि प्रवेश निःशुल्क गरिएको आयोजकले जनाएको छ । उद्घाटन खेल तथा क्वार्टरफाइलनसम्मको खेलका लागि प्रवेश शुल्क रु एक सय राखिएको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया