माछाखोला जलविद्युतको उद्घाटन सम्पन्न

सोमबार, १५ फागुन २०७९, १७ : ४७

 काठमाडौँ - गोरखाको धार्चे गाउँपालिकामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडले बनाएको ४.५५ मेगावाटको माथिल्लो माछाखोला जलविद्युत आयोजनाको उद्घाटन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बीच विद्युत आयोजनाको भर्चुअल रुपमा टर्वाइन सञ्चालन गरी उद्घाटन गरेका छन् ।

उद्घाटनपछि प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताए । प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गरे ।


प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतीपूर्ण हुने गरेको जनाउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए । उनले यो वर्ष चुनावी वर्षका रुपमा बितेको जनाउँदै वैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको काममा लाग्ने बताए ।

यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको जनाउदै प्रधानमन्त्री प्रचण्डले गोरखाको जनप्रतिनिधिको हैसियतले लगानीकर्ता हरुलाई विशेष धन्यवादसमेत दिए ।

सोमबार, १५ फागुन २०७९, १७ : ४७

प्रतिक्रिया