अर्थतन्त्रमा सुधार / अर्बौंले बढ्यो राजस्व

मंगलबार, १६ फागुन २०७९, १७ : ०६

काठमाडौँ - फागुन महिनामा भन्सार राजश्व असुली बढ्न थालेको छ । भन्सार विभागका अनुसार फागुन महिनायता दैनिक राजश्व सङ्कलन बढ्न थालेको हो । हाल दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै भन्सार राजश्व सङ्कलन हुन थालेको विभागले जनाएको छ ।

 फागुन महिना सुरु भएसँगै दैनिक १ अर्ब रुपैयाँभन्दा धेरै राजश्व सङ्कलन हुन थालेको हो । निर्देशक तथा सूचना अधिकारी पुण्यविक्रम खड्काका फागुन पहिलो सातायता दैनिक १ अर्ब २० करोड रुपैयाँसम्म राजश्व सङ्कलन भइरहेको छ ।

 जबकि, माघ महिनासम्म दैनिक १ अर्ब रुपैयाँभन्दा न्यून भन्सार राजश्व सङ्कलन हुँदै आइरहेको थियो । उक्त समयमा सरदरमा दैनिक ८० करोडदेखि ९० करोड रुपैयाँ सङ्कलन भइरहेको थियो । सरकारले पुस १ गतेदेखि आयातमा लगाएको प्रतिबन्ध पूर्णरुपमा हटाएपछि राजश्व बढ्न थालेको विश्लेषण विभागको छ ।

‘प्रतिबन्ध हटे लगत्तै आयात बढ्ने र राजश्व सङ्कलनको लक्ष्य नजिक पुग्ने हाम्रो विश्लेषण थियो,’ खड्का भन्छन्, ‘तर, आयात प्रतिबन्ध खुलेको ३÷४ महिनापछि मात्रै आयात बढ्दो रहेछ ।’ अब चैतदेखि आयात पुरानै लयमा फर्कने विभागको आङ्कलन छ ।

फागुनको १५ दिनमा १६ अर्ब २९ करोड रुपैयाँ भन्सार राजश्व सङ्कलन भएको छ । अघिल्ला महिनाहरूमा १५ दिनको अवधिमा दैनिक १ अर्बभन्दा न्यून राजश्व सङ्कलन भइरहेको थियो । यद्यपि, राजश्व सङ्कलन बढे पनि लक्ष्य भेट्टाउन भने मुस्किल देखिएको छ ।

 यस्तै, नाकामा आएर जाँच पास नभएका वस्तुको छिटो र छरितोरुपमा जाँच पास गर्न दबाब दिइरहेको छ । यसका साथै, भन्सार नाकामा थुप्रेका वस्तुहरूको लिलामी प्रक्रिया समेत अघि बढेको छ भने महालेखा परीक्षकको कार्यालयले भन्सार राजश्व उठाउनुपर्ने भनेको ठाउँबाट समेत राजश्व सङ्कलन गर्ने क्रम तीव्रताका साथ अघि बढेको विभागले जनाएको छ ।

मंगलबार, १६ फागुन २०७९, १७ : ०६

प्रतिक्रिया