काठमाडौं- सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो ।
पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो ।
टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा कम्बस्चन भन्दा दोब्बर महंगो र नेपालमा कम्बस्चनभन्दा सस्तो भएकै कारण धेरै ग्राहकले नेक्सन ईभी किन्दै आएका हुन् ।
नेपाल सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन भन्सारमा सहुलियत र १०० किलोवाट क्षमतासम्मका मोटर प्रयोग भएका गाडीमा अन्तःशुल्क नलगाएका कारण कम्बस्चनको तुलनामा ईभी सस्तो भएको हो । टाटा नेक्सन स्टाइलिस डिजाइन, उच्च ग्राउन्ड क्लियरेन्स, टाटाको ठूलो सेल्स र सर्भिस नेटवर्कको कारण धेरै ग्राहकले खरिद गरेका हुन् ।
सिप्रदीले नेपालमा नेक्सन ईभीसँगै फास्ट चार्जर निर्माण अग्रसरता देखाएर ग्राहकलाई रेन्जको कारण उत्पन्न हुने डर हटाउन काम गरेको कारण नेक्सन ईभी मानिसले ढुक्कसँग खरिद गरेका हुन् ।
नेक्सन ईभीमा ३० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । कम्बस्चन इन्जिन भएको नेक्सनको लगभग समान डिजाइन र फिचर रहेको ईभी थप हाइटेक रहेको छ ।
ग्राहकको बीचमा निकै लोकप्रिय रहेको नेक्सनको लङ रेन्ज मोडल म्याक्स पनि नेपाल आउने भएको छ । कम्पनीले नेपाल ल्याउने तयारी थालेको म्याक्स मोडलमा ४० किलोवाट आवरको ब्याट्री रहने छ । भारतमा विक्री हुँदै आएको नेक्सन म्याक्समा १०० किलोवाटभन्दा माथिको मोटर प्रयोग भएको छ । नेपाल कुन साइजको मोटरमा आउँछ र मूल्य कति पर्छ भन्ने विषयमा सिप्रदीले कुनै जानकारी दिएको छैन ।
प्रतिक्रिया