नेशनवाइड जर्नालिस्ट फेलोसिप प्रोगाम २०२३ सुरु

मंगलबार, २३ फागुन २०७९, १२ : १३

काठमाडौँ-  नेपाल पत्रकार महासंघसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरूबीच राष्ट्रब्यापी लेख लेखन प्रतियोगिता नेशनवाइड जर्नालिस्ट फेलोसिप प्रोगाम २०२३ सुरु गरेको छ । 

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरूको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् ।

वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरू र स्तम्भकारहरूले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए । 

उत्कृष्ट १५ लेखका लेखकलाई सम्माननीय प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारूपमा क्रमशः रु. १ लाख, रु.७५ हजार, रु. ५० हजार, रु.२५ हजार र रु.१५ हजारका दरले सम्मान गरिने छ । 

साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत रु. १० हजारका दरले नगद तथा प्रमाणपत्रमार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् । 
नेपाल सरकारसहितको सहभागीतामा २०८० साल बैशाख पहिलो हप्ता काठमाडौँमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए । 

उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरूकोे सृजनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूले सो प्रतियोगीतामा भाग लिन सक्ने बताए । उनअनुसार सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ति पत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमूलक र तथ्यपरक लेख अनलाइनमार्फत २०७९ साल चैत्र १३ गतेभित्र आवेदन दिन सक्नेछन् । 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए । अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरूलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिने जनाइएको छ । 

मंगलबार, २३ फागुन २०७९, १२ : १३

प्रतिक्रिया