काठमाडौँ - सुजुकीको नयाँ ग्रान्ड भिटारा र न्यू ब्रेजा सार्वजनिक हुँदैछ। नेपालको लागि सुजुकी गाडीहरूको आधिकारिक वितरक सिजी मोटोकर्पका अनुसार कम्पनीले यही साता यी दुई गाडी सार्वजनिक गर्ने भएको हो।
नेपाली बजारको लागि ग्रान्ड भिटारा निकै प्रतिक्षित एसयुभी हो। कम्पनीले यसको लागि गत महिनादेखि नै प्रि(बुकिङ खुलाएको थियो। प्रि-बुकिङमा ग्राहकहरूबाट सकारात्मक प्रतिक्रिया आएको कम्पनीका सहायक महाप्रबन्धक करुण शाक्य बताउँछन्।
त्यस्तै बजारमा ब्रेजाले हालसम्म राम्रो प्रदर्शनी गरेको छ। यस्तैमा नयाँ अपग्रेड सहितको न्यू ब्रेजा आउने भएपछि पनि ग्राहक उत्साहित रहेको उनले बताए।
सहायक महाप्रबन्धक शाक्यका अनुसार यी दुवै एसयुभी शुक्रबार एकै साथ सार्वजनिक हुँदैछ। गाडी प्रि-बुकिङ गर्ने ग्राहकहरूको लागि कम्पनीले आगामी सातादेखि नै डेलिभर सुरू गर्ने समेत करुण बताउँछन्।
कम्पनीले हालसम्म यी गाडीहरूको मूल्य र विशेषताहरू सार्वजनिक गरेको छैन। गाडी लन्चसँगै यी कुराहरू सार्वजनिक गरिने कम्पनीको भनाइ छ।
नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध हुने अनुमान छ। १९९७ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २,६०० एमएम ह्विलबेस र १७ इन्चको टायर हुने बताइएको छ।
यसबाहेक यसमा सुरक्षाको लागि ६ एयरब्याग, इबिडीसहिकतो एबिएस प्रविधि लगायत हुने अनुमान छ। गाडीमा पुरै एलइडी लाइट हुनेछ भने यसको बाहिरी आवरण नै बोल्ड र स्टाइलिस हुने देखिन्छ।
कम्पनीले नेपाली बजारको लागि यो गाडीको मूल्य सार्वजनिक गरेको छैन। तर भारतमा यसको मूल्य भारु १० लाख ४५ हजारदेखि सुरू हुन्छ। नेपाली बजारमा भने यसको मूल्य ६५ लाखदेखि सुरू हुने अनुमान लगाउन सकिन्छ।
त्यस्तै न्यू ब्रेजाको भारतीय बजार मूल्य यतिबेला ८ लाख २० हजारदेखि सुरु हुन्छ। नेपाली बजारमा भने यसको मूल्य ५५ लाखदेखि सुरू हुने अनुमान लगाउन सकिन्छ।
यो गाडीमा १४६२ सिसीको इन्जिन जडित हुनेछ भने यसले ८८ पिएस पावर र १२१.५ एनएम टर्क जेनेरेट गर्नेछ।
पाँच सिटर यो गाडीमा कम्पनीले ४८ लिटरको इन्धन ट्याक दिएको छ भने ३२८ लिटरको बुट स्पेस पाउन सकिन्छ। सुरक्षाको लागि न्यू ब्रेजामा पावर स्टेरिङ, एन्टी लक ब्रेकिङ प्रविधि, अलोय ह्विल, फग लाइटहरू हुनेछन्।
सिजी मोटोकर्मले नेपाली बजारमा कुन-कुन भेरियन्टको नयाँ भिटारा र ब्रेजा भित्र्याउन लागेको हो भन्ने शुक्रबार मात्रै सार्वजनिक गर्ने बताएको छ। यससँगै कम्पनीले सम्पूर्ण मोडलको विशेषताहरू पनि सार्वजनिक गर्नेछ।
प्रतिक्रिया