काठमाडौं- अमेरिकी लग्जरी इलेक्ट्रीक कार ब्राण्ड टेस्लाले मेक्सिकोमा दुनियाँकै सबैभन्दा ठुलो इलेक्ट्रीक भेहिकल म्यानुफ्याक्चरीङ प्लान्ट ‘गिगा फ्याक्ट्री’ बनाउने भएको छ । मेक्सिको सरकारले सार्वजनिक गरेको एक रिपोर्टपछि यो विषय बाहिर आएको हो ।
टेस्लाले मेक्सिकोमा लगाउने प्लान्टको लागि अनुमति प्राप्त गर्न अन्तिम चरणको काम गरिरहेको उक्त रिपोर्टमा उल्लेख छ ।
टेस्लाले यही प्लान्टबाट आगामी नयाँ मोडलहरुका लागि ‘नेक्स जेनेरेशन भेहिकल प्ल्याटफर्म’ समेत विकास गर्ने योजना बनाएको छ । उक्त योजना गत हप्ता भएको टेस्लाको ‘इनभेस्टर डे’मा घोषणा गरेको थियो ।
प्रकाशित रिपोर्टको अनुसार टेस्लाले मार्च महिनाबाटै प्लान्टको काम सुरु गर्ने र २०२४ मै उक्त प्लान्टबाट पहिलो कार उत्पादन गर्ने उल्लेख छ । उक्त विषय मेक्सिकोे नुएवो लीओनका गभर्नरले मिडियालाई जानकारी दिएका हुन् । उनका अनुसार टेस्लाको नयाँ प्लान्ट अमेरिका र म्याक्सिकोको सीमा क्षेत्रमा निर्माण हुनेछ ।
त्यसैगरी मेक्सिको सरकारको अधिकारीहरुका अनुसार टेस्लाले यो प्लान्ट लगाउनको लागि पाँच बिलियन अमेरिकी डलर खर्च गर्ने र उक्त लगानीमा संसारकै सबैभन्दा ठूलो इलेक्ट्रीक भेहिकल मेनिफ्याक्चरीङ प्लान्ट हुने रिपोर्टमा दावी गरिएको छ ।
टेस्लाको मेक्सिकोमा बन्ने गिगा फ्याक्ट्रीमा ७ हजारभन्दा बढि व्यक्तिले रोजगारी पाउने छन् । टेस्लाले यो प्लान्टमा कारको साथै कारमा प्रयोग हुने ब्याट्री र चिप पनि उत्पादन गर्ने योजना बनाएको छ । त्यसको लागि टेस्लाले म्याक्सिकोमा ४ हजार २०० एकड जमिन प्राप्त गरिसकेकोे रिपोर्ट सार्वजनिक भएको छ । जुन टेस्लाको टेक्सस गिगा फ्याक्ट्री भन्दा दुई गुणा ठूलो हो ।
कम्पनीले यूरोपको जर्मनी, अमेरिका र चीनबाट आफ्ना कारहरु उत्पादन गरिरहेको छ । यससगैं यूरोप र चाइनापछि आफ्नो पहिलो ठूलो प्लान्ट मेक्सिकोमा निर्माण गर्ने भएको हो ।
प्रतिक्रिया