विषादी परीक्षण गर्ने प्रस्ताव अघि बढ्यो : नेपाली उत्पादनले पाउला बजार ?

१ बर्ष अगाडि

काठमाडौं – तरकारी लगायतका खाद्यपदार्थमा विषादीको मात्रा परीक्षण गर्ने निर्णयबाट पछि हटेको भनेर आलोचना भइरहेका बेला सरकारले विषादी परीक्षणसम्बन्धी प्रस्ताव अघि बढाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य पदार्थमा ‘जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा’ निर्धारण गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो। कृषि मन्त्रालयको प्रस्तावलाई बिहीवारको मन्त्रिपरिषद् बैठकले सम्बन्धित समितिमा पठाउने निर्णय गरेको हो।

आन्तरिक उत्पादन र आयातित वस्तु सबैमा लागु हुने गरी ‘जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा’ मापदण्ड सम्बन्धी प्रस्ताव अघि बढेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले बताए। ‘पहिला तयार गरेको प्रस्ताव हुबहु क्याविनेटमा पठाएका छौं,’ सचिव शर्माले भने, ‘समितिमा छलफलपछि मन्त्रिपरिषद् बैठकबाट निर्णय होला।’

मन्त्रालयले यो मापदण्ड राजपत्रमा प्रकाशित गरी प्रकाशन गर्न स्वीकृतिका लागि गत भदौ १५ गते मन्त्रीपरिषद्मा पठाएको थियो। निर्वाचन पश्चात् नयाँ सरकार गठन भएपछि मन्त्रिपरिषद् समितिमा विचाराधीन रहेका सबै प्रस्तावहरू फिर्ता हुने क्रममा मन्त्रिपरिषद्को पुस ११ गतेको पहिलो बैठकबाट फिर्ता आएको थियो। अहिले फेरि अघि बढाएको हो।

खाद्य पदार्थको गुणस्तर सम्बन्धमा खाद्य ऐन, २०२३ को दफा ७ बमोजिम विभिन्न तरकारीका ६ समूह र १५ उपसमूह एवं फलफूलका ४ समूह र १० उपसमूहको जीवनाशक विषादीको अधिकतम सीमा सम्बन्धमा मापदण्ड निर्धारण गर्न अन्तर्राष्ट्रिय कोडेक्सएलिमेन्टारियस कमिसन खाद्य पदार्थ सम्बन्धी मापदण्डको आधारमा तयार भएको हो।

मन्त्रालयले तयार गरेको मापदण्ड नेपालमा बिक्री हुने खाद्य वस्तुमा लागु हुने गरी तयार गरिएको छ। उपभोक्तालाई गुणस्तरीय तरकारी लगायतका खाद्य वस्तु उपभोग गर्ने वातावरण सिर्जना गर्न सरकारले मापदण्ड बनाएको हो। अन्तर्राष्ट्रिय स्तरको मापदण्ड बनाएको मन्त्रालयले जनाएको छ।

विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूबाट राय सुझावको लागि पठाएकोमा कुनै टिप्पणी नआएपछि कार्यान्वयनको प्रक्रियामा अघि बढाएको मन्त्रालयले जनाएको छ। सरकारले यसअघि पनि विभिन्न तरकारी तथा खाद्यवस्तुमा कीटनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गरेकोमा अहिले थप तरकारी तथा खाद्यवस्तुको मापदण्ड तयार गरेर राजपत्रमा प्रकाशित गरी कार्यान्वयन गर्न लागेको हो।

सरकारले तयार गरेको मापदण्डका आधारमा नेपाल भित्रिने वस्तुको भन्सारमा परीक्षण गर्नुपर्छ। तरकारी परीक्षण गर्दा मानव स्वास्थ्यमा असर पुग्ने विषादीको अवशेषको मात्रा रहेमा तरकारी लगायतका खाद्यान्न बिक्री वितरणमा रोक लगाउनुपर्छ। तरकारी तथा कृषिजन्य उत्पादनमा विषादी प्रयोग गर्ने भएकाले ती विषादीको अवशेष कति छ भनेर परीक्षण गर्नुपर्छ। विषादी मानव स्वास्थ्यका लागि घातक भए पनि तरकारीमा किरा तथा रोग नियन्त्रण प्रयोग हुने सबै विषादीको परीक्षण नहुनुले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गरेको देखिएको छ।

अहिलेसम्म स्वदेशमा उत्पादन हुने र विदेशबाट आयातित तरकारी, फलफूल लगायत कृषिजन्य वस्तुमा एक दर्जनभन्दा बढी समूहका विषादी प्रयोग हुन्छ। यसमध्ये थोरै समूहका कीटनाशक विषादी परीक्षण हुन्छ भने धेरै समूहका विषादीको परीक्षण नै हुँदैन।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार बजारमा बिक्री हुने तरकारीमा नमूनाको रूपमा इन्सेक्टिसाइडअन्तर्गतका अर्गानोफस्फेट, कार्बामेटलगायतका केही विषादीको मात्रा परीक्षण हुन्छ। नेपालमा धेरै विषादीको परीक्षण गर्ने प्रविधि र संयन्त्र नै छैन। भारत लगायतका मुलुकबाट आयातित तरकारीको मात्र नभएर स्वदेशमै उत्पादित तरकारीमा पनि विषादी भेटिने गरेको छ

१ बर्ष अगाडि

प्रतिक्रिया