काठमाडौं- बीवाइडी ब्रान्ड पछिल्लो दिनमा ‘न्यू इनर्जी प्यासेन्जर भेहिकल’ उत्पादन गर्ने विश्वको सबैभन्दा ठूलो निर्माता कम्पनी हो । प्यासेन्जर सेग्मेन्टपछि अब भने कम्पनीले ब्याट्री इलेक्ट्रिक कमर्शियल भेहिकल सेग्मेन्टमा लगानी थप्ने भएको हो ।
बीवाइडीले सन् २०२५ सम्ममा आफ्नो कमर्शियल भेहिकल सेग्मेन्टको लागि २० बिलियन डलर बढीको बजेट विनियोजन गरेको जनाएको छ । वाल स्ट्रिट जर्नलले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार कम्पनीले अनुसन्धान, उत्पादन विकास र क्षमता विस्तारको लागि ठूलो रकम खर्च गर्ने योजना बनाएको हो ।
कम्पनीले बनाएको योजना अनुसार आगामी तीन वर्षमा चीन, युरोप र जापान लगायतका देशमा कमर्शियल सेग्मेन्ट अन्तर्गतका सवारीसाधन लन्च गर्ने लक्ष्य लिएको छ ।
सन् २०२२को तथ्यांक अनुसार कम्पनीले १८ लाख ६३ हजार ४९४ युनिट न्यू इनर्जी भेहिकल विक्री गरेको थियो । त्यसलगत्तै, कम्पनीले २०२२ को मार्चमा इन्टरनल कम्बस्चन इन्जिनबाट सञ्चालन हुने सवारी साधनको उत्पादन र बिक्री बन्द गर्ने घोषणा गरेको हो ।
विगत तीन वर्षको अवधिमा कम्पनीको न्यू इनर्जी कमर्सियल भेहिकलको विक्री संख्या उत्साहजनक छैन । कम्पनीले २०२० मा १० हजार ६३५ युनिट र २०२१ मा १० हजार ३८ युनिट मात्र सवारी विक्री गरेको सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ ।
सन् २०२३ मा सुरु भएपछि भने चीनमा कोभिड १९ को त्रास कम भएपछि भने कमर्शियल सेग्मेन्टका सवारीसाधनको विक्री संख्या उल्लेखनीय रूपमा वृद्धि भएको पाइन्छ ।
जसअनुसार कम्पनीले गत जनवरीमा १ हजार १७७ युनिट र फेब्रुअरीमा १ हजार ९९१ युनिट न्यू इनर्जी कमर्शियल भेहिकल विक्री गरेको जनाएको छ । यो वार्षिक रूपमा क्रमशः ३८६।३६ प्रतिशत र १४५।८ प्रतिशतको वृद्धि हो ।
कम्पनीले यो दुई महिनाको अवधिमा कुल न्यु इनर्जी भेहिकल जनवरीमा १ लाख ५१ हजार ३४१ युनिट र फेब्रुअरीमा १ लाख ९३ हजार ६५५ युनिट विक्री वितरण गरेको छ ।
प्रतिक्रिया