काठमाडौं – एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले इन्डोनेसियन ब्रान्ड जेसिस्ट्सको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सो स्कुटर सार्वजनिक गरे ।
कार्यक्रममा बोल्दै घिसिङले विद्युत खपत बढाउन विद्युतीय साधनलाई प्राथमिकता दिनुपर्ने बताए । खरिद पछि मर्मत खर्च कम लाग्ने र इन्धनको मूल्य जोगिने भएकाले विद्युतीय सवारी लाभदायक रहेको घिसिङले बताए । उनले विद्युतीय सवारीलाई प्रवद्र्धन गरिने कार्यक्रममा आफू सधै उत्साहका साथ संलग्न रहने गरेको समेत बताए ।
यो नेपालमा उपलब्ध अहिले सम्मको सबैभन्दा ठूलो टायर भएको विद्युतीय स्कुटर भएको कम्पनीको भनाइ छ । अन्य स्कुटरमा नभएको मोनोसक यसमा रहेको छ, जसले गर्दा ग्राभेल सडक तथा खाल्डाखुल्डी भएको सडकमा समेत लचकतापूर्ण तरिकाले चलाउन सकिन्छ ।
रातो, सेतो र कालो गरी ३ वटा रंगमा उपलब्ध भएको यस स्कुटरमा ५ किलोवाटको मोटर जडान गरिएको छ । यसका कारण यो नेपालमा उपलब्ध सबैभन्दा शक्तिशाली विद्युतीय स्कुटर मान्न सकिन्छ । त्यसैगरी यसमा ड्राइभ बेल्ट समेत रहेको छ ।
सो इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट, २० एएचको लिथियम आयोन ब्याट्री जडान गरिएको छ, जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज दिन्छ । यसलाई ९० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
प्रतिक्रिया