काठमाडौं- नेपाली बजारमा रोयल इन्फिल्डको आधिकारिक वितरक बने पश्चात अल्फा अटोमोटिभले काठमाडौंका दुई स्थानमा शोरुम सञ्चालन गरेको छ ।
नक्साल र बालकुमारीस्थित शोरुम सञ्चालनमा आइसके पश्चात केही दिनमै यसको औपचारिक शुभारम्भ गर्ने तयारी भएको कम्पनी स्रोतको भनाइ छ ।
पहिले दुगड ब्रदर्स एन्ड सन्स अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लामो समय सम्म रोयल इन्फिल्डका बाइक बिक्री–वितरण गरिरहेकोमा हाल अल्फा अटोमोटिभ आधिकारिक वितरक बनेको छ । यद्यपि आयात प्रतिबन्ध र अन्य विभिन्न प्रावधानका कारण नेपाली बजारमा रोयल इन्फिल्डका विभिन्न नयाँ मोडल उपलब्ध हुन सकेका थिएनन् ।
हाल नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० बिक्रीका लागि उपलब्ध छ । ब्याटल ग्रिन, गन मेटल ग्रे र ब्ल्याक कलरमा उपलब्ध क्लासिक ३५० को पहिलो दुई कलरको मूल्य ६ लाख ५० हजार र ब्ल्याक कलरको मूल्य ६ लाख ४० हजार रुपैयाँ छ ।
नेपाली ग्राहकले रोयल इन्फिल्ड मेटियर ३५० समेत बुकिङ गर्न सक्ने अल्फा अटोमोटिभले जनाएको छ । आगामी दिनमा अन्य मोडल समेत उपलब्ध हुने बताइएको छ ।
शोरुममा रोयल इन्फिल्ड मोटरसाइकलका अतिरिक्त हेल्मेट, विभिन्न प्रकारका गियर र अन्य एसेसरिज समेत उपलब्ध हुनेछन् ।
प्रतिक्रिया