काठमाडौँ- सुन्दर यातायातले विद्युतीय स्कुटरमार्फत राइड सेयरिङ सेवा प्रदान गर्ने भएको छ ।
कम्पनीले आफैले पेट्रोलियमबाट विद्युतीयमा रुपान्तरण गरेका स्कुटर समेत यसमा प्रयोग हुनेछन् ।
सुन्दर यातायातका अनुसार आगामी बैशाख १ देखि विभिन्न चरण गरी ३ चरणमा १०० वटा स्कुटरबाट यो सेवा शुरु गरिने छ । यस अनुसार ५० वटा स्कुटर कम्पनीले नै रुपान्तरण गरेका हुनेछन् भने बाँकी अन्य स्कुटर हुनेछन् । पहिलो चरणमा ३०, दोस्रो चरणमा ३० र तेस्रो चरणमा ४० वटा विद्युतीय स्कुटर राइड सेयरिङका लागि प्रयोग गरिने छन् ।
हाल काठमाडौं उपत्यकामा प्रचलित पठाओ, इन्ड्राइभर लगायतका राइड सेयरिङ सेवामा विद्युतीय स्कुटर प्रयोग भएको पाइदैन । यदि सुन्दर यातायातले यस प्रकारको सेवा शुरु गरेमा नौलो समेत हुनेछ ।
हाल १० वटा स्कुटरबाट यसको परीक्षण भइरहेको छ । नेटवर्क लगायतका पूर्वाधार र अन्य पक्षबारेमा परीक्षण भइरहेको थापाले बताए । प्रचलित मूल्य भन्दा ५० प्रतिशत सस्तो दरमा सेवा उपलब्ध गराइरहेको र राइडरहरुलाई समेत निःशुल्क स्कुटर उपलब्ध गराइरहेकाले यो प्रभावकारी पाइएको कम्पनीको भनाइ छ ।
सुन्दर यातायातको राइड सेयरिङ सेवामा जोडिन चाहने राइडरहरुका लागि आवेदन समेत खुला भइसकेको र हाल सम्म १ हजार ६ सय भन्दा बढीले आवेदन दिइसकेको कम्पनीले बताएको छ । दुई पांग्रे सवारी साधनको लाइसेन्स भएका कुनै पनि नेपाली नागरिक यसमा जोडिन सक्ने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया