मेलम्चीमा भलिबल प्रतियोगिता हुने

१ बर्ष अगाडि

 काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्चीमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २५ गतेदेखि पुरुष भलिबल प्रतियोगिता हुने जानकारी दिइएको हो ।

राम श्रेष्ठको प्रायोजनमा हुने उक्त प्रतियोगितामा जिल्लाभित्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । मेलम्ची पुनःनिर्माण तथा संरक्षण समिति र मेलम्ची युवा क्लबको आयोजनामा प्रतियोगिता गर्न लागिएको आयोजक समितिका सदस्य सागर श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रू दुई लाख, रू एक लाख र रू ७५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मनुभएका श्रेष्ठ उक्त प्रतियोगिताको प्रायोजन गर्नुभएको हो । यस वर्ष भलिबलबाट सुरु गरिएको भन्दै आगामी वर्षमा यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।

कोरोना महामारी समयमा, मेलम्ची बाढीमा राहत तथा उद्धारका साथै भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्दै आउनुभएका श्रेष्ठले खेलक्षेत्रका माध्यमबाट ‘मेलम्ची बन्दै छ’ भन्ने सन्देश प्रवाह गर्नका लागि प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा समाजसेवी प्रकाश सापकोटाले खेलको माध्यमबाट पर्यटक प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले भलिबल आयोजना गर्न लागिएको बताउनुभयो । रासस

१ बर्ष अगाडि

प्रतिक्रिया