सरकारले धुमुर्स–सुन्तली फाउण्डेशनलाई रु १२ करोड अनुदान दिने

१ बर्ष अगाडि

काठमाडौँ - सरकारले धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिने भएको छ । चितवनको भरतपुरमा निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि सरकारले उक्त रकम दिन लागिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् । बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै प्रमुख दाहालले भनिन्, ‘अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ ।

 अहिले पनि धेरै जनामा रङ्गशाला बन्ने हो कि होइन भन्ने प्रश्न उब्जिएको छ, धुमुर्स–सुन्तली फाउण्डेशनलाई ऋण तिर्न एक मुष्ट रु १२ करोड अनुदान दिई बाँकी निर्माणकार्य अगाडि बढाउने तयारी छ ।’ निर्माणाधीन उक्त रङ्गशालाको स्वामित्व राखेपले लिने निर्णय भएको र बाँकी कार्य पुल्चोक क्याम्पसको प्राविधिक सहयोगमा गर्ने गरी बोलपत्र आह्वान गरिने प्रमुख दाहालले बताइन् ।

 उनले पुल्चोक इन्जिनीयरिङ क्याम्पस र राष्ट्रिय खेलकुद परिषद्बीच यसबारे निरन्तर छलफल भइरहेको बताइन् । रङ्गशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउडेशनले ऋण देखाउँदै निर्माणकार्य बन्द गरेर उक्त रङ्गशाला महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । मन्त्रिपरिषद्को बैठकले फाउण्डेशनलाई एकमुष्ठ अनुदान दिई सङ्घीय सरकारले थप निर्माणकार्य अगाडि बढाउने निर्णय गरेको थियो । 

 बागमती प्रदेश क्रिकेट सङ्घ र भरतपुर महानगरपालिकाको संयुक्त आयोजनामा निर्माणाधीन उक्त रङ्गशालाको मैदानमा आजदेखि  ‘भरतपुर मेयरकप वागमती प्रदेश अन्डर–१६ क्रिकेट छनोट प्रतियोगिता’ सञ्चालन गरिएको हो । प्रतियोगिता वैशाख–७ गतेसम्म सञ्चालन हुनेछ । बागमती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्न्यातले प्रतियोगितामा नेपाल क्रिकेट सङ्घले मान्यता दिएका छ जिल्लाका टोलीको सहभागिता रहेको जानकारी दिए ।  

 काठमाडौँ, भक्तपुर र मकवानपुर समूह ‘ए’ मा छन् भने ललितपुर, चितवन र नुवाकोट समूह ‘बी मा रहेका छन् । प्रतियोगिता लिगका आधारमा खेलाइने छ । दुई समूहबीचका समूह विजेता टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । अध्यक्ष बस्न्यातका अनुसार विधागततर्फ म्यान अफ द सिरिज, म्यान अफ म्याच, बेष्ट ब्याटर र बेष्ट बलरलाई उपहारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा सहभागी खेलाडीमध्येबाट नै बागमती प्रदेशको अन्डर १६ को टोली तयार गरिनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया