प्रकाश सपूतको गित सकम्बरीप्रति पारिजात स्मृति केन्द्रको गम्भिर ध्यानाकर्षण

आइतबार, १० बैशाख २०८०, १७ : ००

काठमाडौँ-  प्रकाश सपुतको सकम्बरी (फूलमाया) नामक गीती भिडियो भर्खरै सार्वजनिक भएको छ। उक्त गीतको छायाँकनमा सुप्रशिद्ध लेखिका पारिजातद्वारा लिखित बि.सं. २०२२ सालको मदन पुरस्कार प्राप्त कृति शिरीषको फूल देखाइएकोर दुई पात्रहरुको नाम सकम्बरी र सुयोगबीर राखी तिनीहरुलाई प्रस्तुत गरिएको सन्दर्भप्रति पारिजात स्मृति केन्द्रको गम्भीररुपमा ध्यान आकृष्ट भएको छ।

साहित्यकार पारिजालद्वारा लिखित उपन्यास शिरीषको फूलकी पात्र सकम्बरी को चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगबीर नाम दिनु र शिरिषको फूल पुस्तक समेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था नदेखिएको र यसरी पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि  केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि नरहेको साथै यसबाट प्रतिलिपि अधिकारको पनि उल्लङ्घन भएको केन्द्रले बताएको छ ।

पारिजात स्वयम् नारी सशक्तिकरणका लागि लड्नु भएको व्यक्तित्व हुनुभएको व्यहोरा समेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रुपमा प्रस्तुत गरिएको गीतको छायाँकनमा अप्रासंगिक रुपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीती भिडियोमा देखाइएका पात्रहरुको नाम सकम्बरी र सुयोगबीर राखिएकोप्रति पारिजात स्मृति केन्द्रको आपत्ति रहेको छ।

यस प्रकारका अनिधिकृत छायाँकनबाट सुप्रशिद्ध साहित्यकार पारिजातको कृतिमाथि अन्याय हुनुका साथै वहाँको छविलाई अमर्यादित पार्ने काम भएको पारिजात स्मृति केन्द्रको ठहर छ। पारिजात स्मृति केन्द्र सर्जकको स्वतन्त्रताप्रति सदैव संवेदनशील रही आएको र लेखकीय स्वतन्त्रताको पक्षधर रहेको पनि जानकारी गराउँदै केन्द्रले प्रकाश सपूतलाई क्षमायाचना सहित त्यस्ता दृष्यहरु सच्याउन माग समेत गरेको छ ।

आइतबार, १० बैशाख २०८०, १७ : ००

प्रतिक्रिया