निरा हत्यामा संलग्न आरोपी झापाबाट पक्राउ

आइतबार, १७ बैशाख २०८०, ११ : ०२

काठमाडौं- कपनमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा आचार्यको हत्यामा झापाका विनोद विश्वकर्माको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको छ । प्रहरीले विश्वकर्मालाई झापाबाटै पक्राउ गरेर काठमाडौं ल्याइरहेको छ । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार निराको हत्यामा विश्वकर्माको संलग्नता पुष्टि हुने बलियो प्रमाण फेला परेको छ । एक प्रहरी अधिकारीले भने, ‘घटनामा विनोदको संलग्नता रहेको निष्कर्षमा हामी पुगेका छौँ । मृतकबाट लुटिएका सुनका गहना उसले बालाजुको सुन पसलमा बेचेको रहेछ ।’ 

हत्यापछि गहना बेचेका विनोद झापामा लुकेर बसिरहेका थिए । उनी ठमेलको एक नाइट क्लबका बाउन्सर रहेको खुलेको छ । 

७ वैशाखमा कपनस्थित सरस्वतीनगरको व्यस्त सडकमै सञ्चालन गरिएको भाँडा पसलभित्रै अन्धाधुन्ध चक्कु प्रहारबाट बाग्लुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीया आचार्यको हत्या भएको थियो । 

उनले सरस्वतीनगरमा ‘निरु किचेन’ नामको भाँडा पसल चलाउँदै आएकी थिइन् । दिउँसो ३ बजेतिर आचार्यले सञ्चालन गर्दै आएको भाँडा पसलकै काउन्टरमा उनको घाँटी तथा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर हत्या गरिएको थियो । 

आइतबार, १७ बैशाख २०८०, ११ : ०२

प्रतिक्रिया