किबीले दिएको सफलताको स्वाद

शुक्रबार, २० कार्तिक २०८३, १२ : ३२

काठमाडौं- अलैँचीखेतीमा लगानी डुबेपछि जैमिनी नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गरेका छन् । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ । किबी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उनि व्यावसायिक खेती विस्तारमा लागेका हुन् ।

रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्कनुभएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँचीखेती गरेका थिए । हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सकेनन् । त्यसपछि उनले किबी रोजेका छन् ।

सुरुमा पाँच रोपनीमा लगाएको किबीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किबी लगाएका थिए । यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए ।
 
“पाँच रोपनीमा लगाएको किबीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भने, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्नसके सफल हुन सकिनेरहेछ । अलैँचीमा असफल भए पनि किबीमा सफलता मिलेको छ ।”

गण्डकी प्रदेश सरकारको रु २० लाख अनुदान सहयोगमा उनले आफ्नै बारीमा किबीखेती विस्तार गरेका हुन् । खेतीलाई अझ विस्तार गर्ने योजना बनाउनुभएका शर्माले उत्पादित किबी बजार पठाउने तयारी गरिरहनुभएको छ । उनले भने, “सुन्तलाखेती पनि सुरु गरेको छु ।”

सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किबीखेती थाल्नुभएका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गर्नुभएको छ । उनका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किबीमा आवद्ध छन् । त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किबीखेती गर्ने किसान आफू नै भएको उनको दाबी छ ।
 
जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किबीखेतीका लागि सम्भावनायुक्त रहेको बताए । उनका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किबीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा गरिएको किबीखेतीको परीक्षण सफल भएको उनले जानकारी दिए ।
 
नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिन्छ । यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ ।

शुक्रबार, २० कार्तिक २०८३, १२ : ३२

प्रतिक्रिया