एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

शुक्रबार, २० कार्तिक २०८३, १२ : ०८

काठमाडौं- निर्दलीय पञ्चायकालीन समयमा वामपन्थी नेताहरुलाई  दोलखा जिल्लामा आश्रय दिने रनधता पोखरेलको निधनप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पशुपतिस्थित आर्यघाटमा आज दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली प्रकट गरेका छन् । एकान्नब्बे वर्षीया उनको भक्तपुरको लोकन्थलीस्थित बिहीबार साँझ निधन भएको थियो ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतका महानुभाव आज आर्यघाट जानु भई मुलुकमा लोकतन्त्र स्थापनाका लागि उनले खेलेको योगदानप्रति उच्च सम्मान गर्दै श्रद्धाञ्जली अर्पण गरे । 

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी  स्व पोखरेलप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, संघीय सांसद, प्रदेशसभाका सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायतका नेता आर्यघाट पुगेका थिए । 

 पञ्चायकालको भूमिगत जीवनमा अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरु अमृत बोहरा, केशव बडाल, माधव पौडेललगायतलाई उनले आश्रय दिएका थिए ।     
     
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्व पोखरेलका दुई छोरा र दुई छोरी छन् ।

शुक्रबार, २० कार्तिक २०८३, १२ : ०८

प्रतिक्रिया