आज इङवा हाइड्रोपावरको आइपीओ बाँडफाँट हुँदै

बुधबार, २७ बैशाख २०८०, ०९ : २३

काठमाडौं - इङवा हाइड्रोपावरको आइपीओ आज (वैशाख २७ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहान ९ बजे आफ्नै कार्यालय ठमेल काठमाडौंमा बाँडफाँट हुँदैछ । यता, इङवा हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । 

यसमा मागभन्दा १०.८६ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १२ लाख ५९ हजार ९०१ जनाले कुल १ करोड ३७ लाख ८० हजार ८०० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख २६ हजार ८६३ जनाले मात्र सेयर हात पार्नेछन् । ११ लाख ३३ हजार ३८ जनाको भने हात खाली हुनेछ । 

कम्पनीले वैशाख १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६३९ कित्ता सेयर बिक्री खुला गरेको थियो । कम्पनीले कुल १८ लाख कित्ता आइपीओमध्ये स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि यसअघि नै आइपीओ बिक्री गरिसकेको थियो । 

त्यस्तै, ५% अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गरेको थियो । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ बिक्री प्रबन्धक रहेको छ । 

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ मंसिर २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० पुस ४ गतेसम्म बाहल रहनेछ ।

बुधबार, २७ बैशाख २०८०, ०९ : २३

प्रतिक्रिया