काठमाडौँ- देशभर सञ्चालित एम्बुलेन्सको निगरानी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट गर्न थालिएको छ । मन्त्रालयले देशभर सेवा दिइरहेका एम्बुलेन्सलाई केन्द्रबाटै एम्बुलेन्स ट्रयाकिङ गर्न थालेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईओसी) प्रमुख डा. समीर कुमार अधिकारीले बताए ।
अधिकारीका अनुसार हाल १ हजार ५२६ वटा एम्बुलेन्स ‘जीपीएस’ सफ्टवेयरसँग कनेक्ट भएका छन् । जसमा बागमती प्रदेशका ३७९ एम्बुलेन्स छन् । यस्तै, गण्डकी प्रदेशका २२४, कोशी प्रदेशका २६८, सुदूरपश्चिम प्रदेशका ८३, कर्णाली प्रदेशका ८०, लुम्बिनी प्रदेशका २४८ र मधेस प्रदेशका २४४ वटा छन् ।
सातै प्रदेशमा कहाँ कुन एम्बुलेन्सले सेवा दिइरहेका छन् भन्नेबारे जानकारी लिन र बिरामीलाई सहज सेवाका लागि केन्द्रबाटै जीपीएसमार्फत एम्बुलेन्सलाई ट्रयाकिङ गरिने अधिकारीले बताए । यसबाट कुन एम्बुलेन्स कहाँ चलिरहेको छ भन्ने जानकारी हुने उनको भनाइ छ ।
अधिकारीका अनुसार एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा फोन गरेपछि जीपीएसबाट एम्बुलेन्स ट्रयाकिङ गरी बिरामी भएको ठाउँमा पुग्छ । फोन गर्दा जिल्ला, प्रदेशमा नउठेको खण्डमा मन्त्रालयको विपद् व्यवस्थापन इकाईमा उठ्ने व्यवस्था मिलाइएको उनले बताए ।
त्यसपछि बिरामीको अवस्थाका आधारमा एम्बुलेन्स पठाइने उनको अधिकारीको भनाइ छ । सेवाका लागि एम्बुलेन्स सम्बन्धी एप तयार पारिएको र प्लेस्टोरमा राख्ने तयारी भएको उनले बताए ।
प्रतिक्रिया