सवारीसाधन परीक्षण गर्न ल्याव निर्माण गर्दै विभाग

११ महिना अगाडि

काठमाडौं- यातायात व्यवस्था विभागले नयाँ सवारीसाधन परीक्षण गर्न ल्याव निर्माण गर्ने भएको छ । विभागले अर्थमन्त्रालयसँग त्यसको लागि पाँच करोड रुपैयाँ बजेट माग गरेको जनाएको छ ।

‘हामीले नयाँ सवारीसाधन परीक्षण गर्न सुविधा सम्पन्न ल्याव निर्माण गर्ने प्रक्रिया अगाडि बढाएका छौं । त्यसको लागि आवश्यक बजेट अर्थमन्त्रालयसँग माग गरेका छौं । मन्त्रालयले अगाडि बढ्न भनेको छ । सायद आगामी वर्ष उक्त ल्याव निर्माण हुनेछ’, यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले मेरोअटोसँग भने ।

महानिर्देशक भट्टराईका अनुसार त्यसको लागि ५ करोड बजेट माग गरिएको छ । नेपालमा नै दुई पाङ्ग्रे सवारीसाधन एसेम्बल सुरु भएको र चार पाङ्ग्रे साधनको पनि एसेम्बल सम्भावना देखिएको कारण परीषण ल्याव निर्माण गर्न लागिएको भट्टराईको भनाइ छ ।


आगामी वर्ष ५ करोड बजेट आए सुरुमा दुई पाङ्ग्रे सवारी परीक्षण गर्ने ल्याव निर्माण गर्ने योजना विभागले बनाएको छ । त्यसपछि चार पाङ्ग्रे साधन परीक्षण ल्याव बन्ने छ ।

पछिल्ला दिनमा कमसल खालका सवारीसाधन नेपाल आउँदा उपभोक्ता र सरकारवाला निकाय नै अन्योलमा परेको अवस्थामा सरकारले परीक्षण ल्याव निर्माण गर्न लागेको हो । उक्त ल्याव काठमाडौंको मिनभवनमा रहने छ ।

अहिले यातायात व्यवस्था विभागसँग टेकुमा भेहिकल फिटनेस सेन्टर संचालनमा रहेको छ । यहाँबाटै नयाँ गाडीको परीक्षण हुँदै आएको छ । तर, यसले इक्यूपमेन्टको अभावमा सम्पूर्ण परीक्षण गर्न सक्ने अवस्था छैन ।

११ महिना अगाडि

प्रतिक्रिया