काठमाडौं – पार्टी भ्रष्टाचार विरुद्ध आन्दोलनको तयारीमा लागेको बेला सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए ।
भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका पूर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरु र केन्द्रीय नेताहरु पनि भ्रमण टोलीमा रहेको मैनालीले बताए ।
यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली पनि चीन भ्रमण गरेर फर्किएको थियो । उक्त भ्रमणको बारेमा आजको अर्थले जिज्ञासा राख्दा पार्टीका विदेश विभाग प्रमुख राम कार्कीले अन्तराष्टिय विभागमा औपचारिक निर्णय नभएको बताए । विदेश विभागकै सदस्य लक्ष्मण पन्तले विदेश विभागलाई भ्रमणबारे कुनै जानकारी नभएको बताए । एक जना केन्द्रीय सदस्यले त यस भ्रमणको बारेमा अध्यक्षलाई पनि पार्टीका तर्फबाट असन्तुष्टि जनाइएको बताए । मुलुकमा भ्रष्टाचार विरोधी आन्दोलन गर्ने समयमा एउटा झुण्ड लिएर रमाइलो गर्ने हो भनेर आक्रोश समेत पोखेका छन् । विचारको विकास गर्ने भनेको त यस्तो प्रवृत्ति पो रहेछ भनेर उनले नेता अग्नि सापकोटाप्रति व्यंग्य पनि गरेका छन् ।
प्रतिक्रिया