२१ स्थानमा ईभीको चार्जिङ स्टेशन निर्माण गर्दै सिजी

११ महिना अगाडि

काठमाडौं-  चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले देशका विभिन्न २१ स्थानमा ईभीको चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ ।

 चिनियाँ स्टार्टअप कम्पनी होजोन अटोको उत्पादन नेटा भीको आधिकारिक वितरक रहेको कम्पनीले ईभीलाई चाहिने आवश्यक पूर्वाधार मध्येको एक चार्जिङ स्टेशन निर्माण गर्ने भएको हो ।

सिजी मोटर्सले देशका ७ वटै प्रदेश राजधानीसहित ठूला सहरका बिभिन्न २१ स्थानमा चार्जिङ नेटवर्क विस्तारको काम अगाडि बढाउने भएको हो । कम्पनीले तीन चरणमा २१ स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ ।

जसमा पहिलो चरण अन्तर्गत कोशी प्रदेशमा इटहरी, मधेश प्रदेशमा ढल्केबर, बागमती प्रदेशमा काठमाडौं, हेटौंडा र चितवन, गण्डकी प्रदेशमा पोखरामा चार्जर राख्ने छ ।


त्यसैगरी पहिलो चरणमै लुम्बिनी प्रदेशको बुटवल, कर्णालीको सुर्खेतमा समेत चार्जिङ स्टेशन निर्माण गर्ने जनाएको छ । पहिलो चरणमा निर्माण गर्ने भनिएको स्थानमा अबको २ महिना भित्र स्टेशन संचालनमा आइसक्ने सिजी मोटर्सले जनाएको छ ।

त्यसैगरी, दोस्रो चरणका लागि कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको बर्दिबास, बागमती प्रदेशको मुल्कोट, लुम्बिनी प्रदेशको नेपालगन्ज र सुदूरपश्चिमको धनगढीमा चार्जर सेटअप राखिनेछ । दोस्रो चरणमा सेटअप गरिएका चार्जिङ स्टेसन अबको ६ महिना भित्रमा संचालनमा आउने कम्पनीको भनाई छ ।

कम्पनीले तेस्रो चरणमा राख्ने चार्जिङ पूर्वाधार भने अबको १ वर्ष भित्र संचालनमा ल्याउनेछ । यसका लागि स्थान भने छनोट गरिसकिएको कम्पनीको भनाई छ । कोशी प्रदेशको बिर्तामोड, मधेश प्रदेशको जनकपुर र सिमरा, बागमती प्रदेशको मुग्लिन, गण्डकी प्रदेशको बाग्लुङ र पाल्पासहित लुम्बिनी प्रदेशको दाङ र सुदूरपश्चिमको महेन्द्रनगरमा चार्जिङ स्टेशन निर्माण हुनेछ ।

कम्पनीले बनाएको योजना अनुसार काठमाडौं, हेटौंडा, सुर्खेत, दोलखा, नेपालगन्ज र सिन्धुलीको मङ्गलटारमा चार्जिङ स्टेशन तयार भइसकेको छ । यी ६ स्थानमा रहेका चार्जिङ स्टेशन अहिले संचालनमा छन् । यसबाहेक, कम्पनीको ओखलढुङ्गामा राखेको चार्जर सेटअप भने केही दिन भित्रमा नै संचालनमा आउने बताएको छ ।

यी गन्तव्यका चार्जिङ स्टेशनबाट ईभी प्रयोगकर्ताले गाडीका लागि फास्ट डिसी चार्जरको सुविधा लिन सक्नेछन् । कम्पनीले अहिले ३० किलोवाट र ६० किलोवाटका डिसी चार्जर राखेको छ । यी स्थानमा आवश्यक परेको खण्डमा ७ किलोवाटको एसी चार्जर पनि जडान गर्ने बताएको छ । सिजीले जीबीटी र सिसिएस टु चार्जिङ गन राखेको हो ।

११ महिना अगाडि

प्रतिक्रिया