फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ का तीन अवार्ड हात पार्न सफल फिल्म ‘राधा’

१० महिना अगाडि

काठमाडौंँ-  सुवर्ण थापाद्वारा निर्देशित फिल्म ‘राधा’ ले फ्रान्सको कान्स सहरमा हालै सम्पन्न ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ का तीन अवार्ड हात पारेको छ । फिल्मका निर्देशक थापाले फेस्टिभलमा वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेष्ट डाइरेक्टर गरेर फिल्मले तीन अवार्ड हात पारेको जानकारी दिए । उनी अहिले राधा प्रदर्शनका लागि अमेरिकामा छन् ।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा ‘राधा’ लेखन, निर्देशन, अभिनय, फिल्म सेट डिजाइन, सम्पादन तथा छायाङ्कनलगायत ७ विधामा मनोनयनमा थियो । ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई ‘प्लेटफर्म’ दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको फेस्टिभल हो । थापाको लेखनसमेत रहेको फिल्मले महिलाको सहनशक्तिको चरित्रको कथा वर्णन गरेको छ ।


यसअघि फिल्म नेपाल प्राविधिक सङ्घले जेठमा आयोजना गरेको नेफ्टा अवार्डमा समेत १० विधामा मनोनयनमा परेको थियो । नेफ्टा अवार्ड जुलाईमा अमेरिकास्थित डालस सहरमा हुँदैछ ।  निर्देशक थापा भने अहिले चलचित्रको शोका क्रममा अमेरिकामा छन् । फिल्म आगामी भदौ २९ गतेबाट पुनः प्रदर्शनमा आउँदैछ । गत वर्षको भदौ १० गते प्रदर्शनमा आएको फिल्मको हलले शोज बाँटफाटमा अन्याय गरेको भन्दै ४ दिनमै प्रदर्शन स्थगित गरिएको थियो ।

फिल्ममा सृष्टि श्रेष्ठ, सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडा लगायतको अभिनय छ । 
 

१० महिना अगाडि

प्रतिक्रिया