थ्रीस्टार हाइड्रोपावरको आइपीओ आजदेखि बिक्री

मंगलबार, ०५ असार २०८०, ०७ : ३१

काठमाडौं - थ्रीस्टार हाइड्रोपावर लिमिटेडले आज मंगलबार असार ५ गते कार्यालय समयबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसमध्ये १०% अर्थात् ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै निष्कासन गरिसकेको छ । 

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई पनि ४ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको थियो । यसमध्ये कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याइएको छ । 

अब बाँकी ६ लाख १३ हजार १६२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने असार १९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ ।

 रेटिङ एजेन्सी इक्रा नेपालले थ्रीस्टार हाइड्रोपावरको आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्चस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साउन ३१ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साउन ३० गतेसम्म बाहल रहनेछ ।

मंगलबार, ०५ असार २०८०, ०७ : ३१

प्रतिक्रिया