काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक पूर्व कर्मचारी विरुद्धविशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकरप्रसाद राजभण्डारीविरुद्ध अख्तियारले विशेषमा मुद्दा दायर गरेकोहो ।
आरोपी राजभण्डारीविरुद्धआयोगले रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको बिगो कायम गरी आज मुद्दा दायर गरेको सहायक प्रवक्ता देवीप्रसाद थपलिया जानकारी दिएका छन् । विसं २०५१ फागुन ३० गते सार्वजनिक सेवामा प्रवेश गरेका राजभण्डारी २०७९ भदौ ३१ गते मात्रै सेवाबाट अवकाश पाएका थिए ।
राजभण्डारीको वैधानिक आय पारिश्रमिक बचत, उनको श्रीमतीको पारिश्रमिक बचत, उपदान, दैनिक भ्रमण भत्ता तथा स्थानीय भत्ता, बीमा परिपक्व भई प्राप्त भएको आय, शेयर बिक्रीबाट प्राप्त आय गरी रु तीन करोड ८५ लाख ५१ हजार सात सय ४० बराबर रहेको आयोग सूत्रले जनाएको छ ।
आफ्नो जागिरको अवधिमा राजभण्डारीले रु सात करोड ४२ लाख २९ हजार ८६ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । त्यसमध्ये रु तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ बराबरको रकमको वैधानिक स्रोत पुष्टि हुन नसकेको पाइएको आयोगले जनाएको छ ।
आरोपी राजभण्डारी र उनका श्रीमती दीपाको नाममा रहेको सम्पत्ति जफतको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
प्रतिक्रिया