चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट

सोमबार, ११ असार २०८०, १६ : २९

काठमाडौँ-  सुवर्ण थापा निर्देशित चलचित्र ‘द सेक्रेटस् अफ राधा’ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिचर कथानक चलचित्र तर्फको अवार्ड जितेको छ । 

अमेरिकाको वासिङ्टन डिसी मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा आयोजित नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणमा चलचित्रले उक्त अवार्ड हात पारेको हो । 

आइतबार सम्पन्न महोत्सवमा सुजित बिडारीले निर्देशन गरेको चलचित्र ‘ऐन झ्लायको पुतली’ र पाकिस्तानी निर्देशक साइम सदिकले निर्देशन गरेको जोयलेण्डले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

यसैगरी उत्कृष्ट छोटो कथानक चलचित्र पुरस्कार सन्तोष दाहालको ‘द मिराज’ले प्राप्त गरेको छ, भने सूर्य शाहीद्धारा निर्देशत ‘ह्वील्स अन द बस’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।

त्यस्तै महोत्सवमा उत्कृष्ट फिचर वृत्तचित्र पुरस्कार सनी लियुद्धारा निर्देशत ‘पियोना म्यान’ र अमेरिकी निर्देशक न्यान्सी स्पेस्डेनले निर्देशन को ‘पासाङ ः द स्याडो अफ एभरेष्ट’ प्राप्त गर्दा सचिन घिमिरेले निर्देशन गरेको वृत्तचित्र ‘इन्टू द मिस्ट’ले मानार्थ पुरस्कार प्राप्त गरेको छ ।


वृत्तचित्र विधातर्फ उत्कृष्ट वृत्तचित्रको पुरस्कार श्रीष् कुँवरद्धारा निर्देशित ‘मेरो बुबा’ले प्राप्त गरेको छ भने भारतका मिधुनजी बाबुको ‘डु डक्स माइग्रेन’ले मानार्थ पुरस्कार पाएको छ ।

महोत्सवले प्रदान गर्ने इम्पावरमेन्ट अवार्ड अस्कर अवार्डमा नोमिनेशन भएको चलचित्र ‘कमिङ आउट वीद द हेल्प अफ टाइम मेसिन’ले प्राप्त गरेको छ भने ‘ह्वेर द विण्डो डाइ’ले फ्रिडम अफ एक्सप्रेशन अवार्ड प्राप्त गरेको छ । महोत्सवका निर्णायक अमेरिकाका निना स्टा«इक, रेबेका बुस्तमान्ते र इरानका फरिद बोजमेरले विभिन्न ११ देशका ३७ ओटा चलचित्र मध्येबाट ती चलचित्र पुरस्कारका लागि छनौट गरेका थिए ।

गतबिहिबार रेड कार्पेटसहित ऐना झ्यालको पुतलीको प्रदर्शनबाट सुरु भएको महोत्सवमा नायक राजेश हमाल, सहयोगी संस्था ग्लोबलपिस फिल्म फेस्टिबलका प्रतिनिधि, अमेरिकामा रहेका नेपाली चलचित्रकर्मी, मेरिल्याण्ड गभर्नस् अफिस, मेरिल्याण्ड फिल्म अफिस, मेरिल्याण्ड पार्कस् एण्ड रिक्रियशनका फिल डेभिसलगायतको उस्थिति रहेको थियो ।

महोत्सवको छैठौं संस्करण सफलतापूर्वक सम्पन्न भएको नेपाल–अमेरिका चलचित्र समाजका अध्यक्ष पूर्ण सिंह बराइलीले बताए ।

सोमबार, ११ असार २०८०, १६ : २९

प्रतिक्रिया