फुर्सदमा ‘कुसन डल’

शुक्रबार, १५ असार २०८०, ०६ : ३५

लहान - “कोरोनाको समयपछि व्यापार/व्यवसाय निराशाजनक छ”, सात वर्षदेखि सिरहाको लहान नगरपालिका–१ मा जुत्ता/चप्पलको पसल सञ्चालन गर्नुभएकी रुवीकुमारी महासेठले भन्नुभयो, “हिजोआज पसलबाट घाटा मात्र भइरहेको छ । व्यापार चौपट भएकाले अब पसलको आम्दानीले मात्र गरिखान मुस्किल छ ।”

जेनतेन परिवारको खर्च धानिरहेको व्यवसायबाट पछिल्लो समय नगन्य उपलब्धि हुन थालेपछि महासेठ भौँतारिनु स्वाभाविक थियो । एकातर्फ परिवारको आर्थिक गर्जो टार्नुपर्ने जिम्मेवारी त अर्कोतर्फ बालबच्चाको भरणपोषण र शिक्षा दीक्षा । महासेठको जस्तो यहाँका अधिकांश सानोतिनो पूँजीले सञ्चालित व्यापार व्यवसाय अहिले सङ्कटको भूमरीमा परेको छ ।

छटपटी र बेचैनीबीच महासेठले लहान नगरपालिकाद्वारा सञ्चालित ‘कुसन डल’ बनाउने १५ दिने सीप विकास तालिम लिनुभयो । तालिम समापनका दिन आज भने उहाँको मुहारमा केही आशा र खुसीको चमक देखिन्थ्यो । “सीप सिकेपछि आशा बढेको छ । फुर्सदको समयमा पनि अब हात खाली हुने भएन । यसबाट आय आर्जनमा वृद्धि भई जीविकोपार्जनमा थप सहयोग पुग्ने विश्वास लिएको छु”, प्रसन्न मुद्रामा महासेठले भन्नुभयो ।

दिनभरि पसलमा बसिरहनुपर्दा दिक्क लाग्ने गरेको बताउनुहुन्छ लहान–१ का किराना पसल गरिरहनुभएकी गीतादेवी साह पनि । “पसल खासै चलेको छैन आजकल, समय यसै बितेर जान्छ । अब यो तालिमपछि भने पसलमा बस्ने मात्र नभएर कुसन डल आफैँले बनाएर फुर्सदको समयको सदुपयोग गर्नेछु”, उत्साहित हुँदै साहले भन्नुभयो । 

“सीप सिकेपछि घरमा बसेर पनि कमाइ गर्न सकिने रहेछ”, स्थानीय आशादेवी महतोले भन्नुभयो, “बजारको वस्तु किनेर घरमा ल्याउनुभन्दा घरमा उत्पादन गरेर बजारसम्म बिक्रीवितरण गर्दा जीविकोपार्जनमा समेत सहज हुने थियो ।” उहाँले जस्तै अन्य दिदीबहिनीले पनि काम गर्नु भयो भने स्थानीय बजारमा तथा हटियाको दिन बेच्ने योजना रहेको उहाँले बताउनुभयो । 

वडा कार्यालय र नगरपालिकाको समन्वयमा यहाँका महिला दिदीबहिनीहरूकोे मागका आधारमा कुसन डलको तालिम निःशुल्क सञ्चालन गरिएको वडा नं १ का वडा सदस्य विमला खत्रीले बताउनुभयो । उहाँले तालिमले वडावासी महिलालाई फुर्सदको समयलाई सदुपयोग गर्न तथा आयआर्जनको स्रोतका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँका अनुसार तालिममा करिब २७ जना गृहणी महिला दिदीबहिनीको सहभागिता थियो ।

नगरपालिकाले गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत उक्त तालिम सञ्चालन गरेको हो । विशेषगरी यहाँका महिलालाई आयआर्जनमूलक कार्यमा जोडी स्वरोजगार बनाउनका लागि तालिम प्रदान गरिएको लहान नगरपालिकाका उद्यम विकास शाखाका सहजकर्ता मुरारीकुमार सिंहले बताउनुभयो । नगरपालिकाका अन्य वडामा पनि यसप्रकारको तालिम भइरहेको सिंहले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरको वडा नं २२ मा चप्पल बनाउने तालिममा २५ जना, कृषिसम्बन्धी तालिममा वडा नं १३ र १९ मा गरी कूल ६० जना, त्यसैगरी लहडी चुरी बनाउने तालिममा वडा नं २२ र २४ मा क्रमशः १५ र १२ जना दिदीबहिनी सहभागी छन् । यसप्रकारका तालिमले महिला दिदीबहिनीलाई स्वरोजगार बनाई जीविकोपार्जन गर्न अत्यन्तै प्रभावकारी रहेको भनाइ सिंहले व्यक्त गर्नुभयो ।  

सीपमूलक तालिमको माध्यमबाट पालिकाका महिलाहरूलाई आयआर्जनमूलक कार्यमा जोडी उत्पादनमूलक कार्यमा लाग्न महत्त्वपूर्ण भुमिका खेल्ने बताउनुहुन्छ, लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी । आफ्नो पालिकाले महिलाका लागि विभिन्न स्वरोजगारमूलक उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गरेको बताउँदै आगामी दिनमा तालिममा सिकेका कुरालाई व्यावहारिक जीवनमा लागू गरी आत्मनिर्भर हुन चौधरी आग्रह गर्नुहुन्छ । 

नगरपालिकाको तर्फबाट महिलालाई व्यावसायिक र आत्मनिर्भर बनाउन हस्तकला, सिलाइकटाइ, ब्यूटीपार्लर, ढाका, मोबाइल मर्मतलगायतका तालिमहरू सञ्चालन गर्दै आएकोसमेत चौधरीले बताउनुभयो । यसका लागि लक्षित वर्गअन्तर्गत महिला सशक्तिकरणका लागि नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमा समेटेको पनि उहाँले जानकारी दिनुभयो । 

शुक्रबार, १५ असार २०८०, ०६ : ३५

प्रतिक्रिया