भगवती हाइड्रोपावरले असार २४ गतेदेखि आइपीओ बिक्री गर्ने

शुक्रबार, १५ असार २०८०, ०८ : ३४

काठमाडौं - भगवती हाइड्रोपावरले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको १०% अर्थात ५ करोड ७२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो ।

यस कम्पनीले १ सय अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी ११६ रुपैयाँ दरमा ५ लाख ७२ हजार ६५ कित्ता सेयर स्थानीयलाई जारी गर्न लागेको हो । यसमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १३, १४, २६ र २७ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । 

यता, सर्वसाधारणमा निष्कासन हुने ८ लाख ५८ हजार ९८ कित्ता सेयरमध्ये १०% अर्थात ८५ हजार ८१० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्ने कम्पनीले जानकारी गराएको छ । यसमा दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । 

स्थानीयले यस कम्पनीको आइपीओमा जेठ ७ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा जेठ २२ गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने जेठ ७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । 

क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । स्थानीयले सिद्धार्थ क्यापिटल,  सिद्धार्थ बैंक, कामना सेवा विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।

शुक्रबार, १५ असार २०८०, ०८ : ३४

प्रतिक्रिया