आजदेखि आइएमई लाइफ इन्सुरेन्सको प्रिमियम आइपीओ बिक्री खुला

विहीबार, २१ असार २०८०, ०७ : ४४

काठमाडौं - आइएमई लाइफ इन्सुरेन्सको आज बिहीबार असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला भएको छ । यसअघि कम्पनीले बुधबार असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेको मा प्राविधिक कारण जनाउँदै आज बिहीबारबाट आवेदन खुला गरेको हो । 

यसले वैदेशिक रोजगारीमा रहेकालाई असार १ गतेदेखि आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०% ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्री गर्दैछ ।

 यसमध्ये १०% अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ६ लाख कित्ता सेयर कर्मचारी र ५% (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । 

सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन  सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८० जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ जेठ २८ गतेसम्म बाहल रहनेछ ।

विहीबार, २१ असार २०८०, ०७ : ४४

प्रतिक्रिया