काठमाडौं- अन्तर बैंक कारोबारको ब्याजदर निरन्तर घटीरहेको छ । बैंकिङ्ग प्रणालीमा तरलता सहज हुँदै गएपछि अन्तर बैंक कारोबारको ब्याजदर पनि घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार अन्तर बैंक ब्याजदर एक प्रतिशतभन्दा तल झरेको छ । हाल यस्तो ब्याजदर ०.६० प्रतिशतको बिन्दुमा झरेको हो ।
विशेषगरि बैंकहरुमा तरलता बढ्दै गएपछि अन्तर बैंक ब्याजदर घटेको हो । हाल बैंकहरुमा निक्षेप उच्च वृद्धि भएको छ । पछिल्लो तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ५७ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । यस्तै, वाणिज्य बैंकहरुको कुल निक्षेप ५० खर्ब ७३ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरुमा तरलता अभाव हुँदा निक्षेप, कर्जाको ब्याजदर पनि उच्च थियो । त्यसबेला बैंकहरुले एक अर्कामा सापटी लिने पैसाको ब्याजदर अर्थात अन्तर बैंक ब्याजदर पनि बढेको थियो ।
गत फागुनमा पनि यस्तो ब्याजदर साढे ८ प्रतिशतसम्म पुगेको थियो । गत चैत र बैशाखमा पनि यस्तो ब्याजदर ७ प्रतिशत हाराहारीमै थियो । तर, जेठ दोस्रो साताबाट भने अन्तर बैंक ब्याजदर घट्न थालेको थियो । हालसम्म आईपुग्दा यस्तो ब्याजदर ०.६० प्रतिशतको बिन्दुमा झरेको हो ।
बैंकहरुमा निक्षेप बढेतापनि कर्जा लगानी भने हुन सकिरहेको छैन । कर्जा प्रवाह करिव ठप्प नै छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा प्रवाह ४८ खर्ब ५३ अर्ब पुगेको छ । तर, निक्षेप संकलन अनुसार कर्जा लगानी हुन सकिरहेको अवस्था छैन । सो अवधिमा बाणिज्य बैंकहरुले ४२ खर्ब ९४ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । मुख्यतः आर्थिक संकटका कारण पनि कर्जाको माग नभएको बैंकरहरु बताउँछन्।
प्रतिक्रिया