मुद्दती निक्षेपमा ब्याजदर घट्यो

सोमबार, ०१ साउन २०८०, ०७ : १०

काठमाडौँ - साउन १ देखि लागु हुने गरी वाणिज्य बैङ्कहरूले निर्धारण गरेको बचतको नयाँ ब्याजदर अनुसार पाँच बैङ्कले ब्याज बढाएका  छन् । आपसी समझदारीमा समान ब्याजदर निर्धारण गर्दै आएका वाणिज्य बैङ्कहरूले साउनदेखि भने आफ्नै अवस्था अनुसार ब्याजदर निर्धारण गरेका हुन भने नौ वटाले घटाएका छन् ।

यस्तै अन्य छ बैङ्कले भने स्थिर राखेका छन् । सार्वजनिक विवरण अनुसार मुद्दती निक्षेपमा औसत ब्याजदर घटेर ९.७२ कायम भएको छ । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज एनएमबी बैङ्कले १०.९८ प्रतिशत निर्धारण गरेको छ भने संस्थागतमा ७.९९ प्रतिशत तोकेको छ । त्यसपछि प्राइम कमर्सियल बैङ्कले मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ १०.९३ र संस्थागततर्फ ८.४९ प्रतिशत निर्धारण गरेको छ । एनआइसी एसियाले पनि १०.९३ प्रतिशत निर्धारण गरेको छ । कुमारीले व्यक्तिगततर्फ १०.०१ प्रतिशत र संस्थागतलाई ७.५१ प्रतिशत निर्धारण गरेको छ ।

१५ विभिन्न बैङ्कले मुद्दतीको ब्याजदरलाई एकल बिन्दुमै सीमित गराएका छन् । मुद्दतीमा सबैभन्दा कम निर्धारण गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको ८.९५ प्रतिशत रहेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, ग्लोबल आइएमई बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल एसबिआई बैङ्क, हिमालयन बैङ्क र सिटिजन्स बैङ्कले मुद्दती निक्षेप ब्याजलाई ९.९९ प्रतिशत कायम गरेका छन् । संस्थागततर्फ २ प्रतिशत बिन्दु काम तोकिएको छ । 

अझै कम गर्नेमा सानिमा बैङ्कले व्यक्तिगततर्फ ९.५२ र संस्थागततर्फ ७.५२, कृषि विकास बैङ्कले व्यक्तिगततर्फ ९.५१ र संस्थागततर्फ ७.५१ तथा एभरेस्ट बैङ्कले व्यक्तिगततर्फ ९.५ र संस्थागततर्फ ७.५ प्रतिशत कायम गरेका छन् । 

एभरेस्ट बैङ्क, प्रभु बैङ्क र सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९.५ प्रतिशत र संस्थागततर्फ ७।५ प्रतिशत प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । माछापुछे बैङ्कले व्यक्तिगततर्फ नौ प्रतिशत र संस्थागततर्फ सात प्रतिशत, राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ८.९९ प्रतिशत र संस्थागततर्फ ६.९९ प्रतिशत तथा नेपाल बैङ्कले व्यक्तिगततर्फ ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याज दिने जनाएका छन् । 

सोमबार, ०१ साउन २०८०, ०७ : १०

प्रतिक्रिया