इन्धनको मूल्य स्वचालित प्रणालीमा , कार्यान्वयनमा कडाई गरिने

सोमबार, ०१ साउन २०८०, ०७ : २५

काठमाडौं- नेपाल आयल निगमले हवाई इन्धनबाहेकको पेट्रोलियम पदार्थमा फेरि स्वचालित मूल्य प्रणाली लागू गरेको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार उक्त उक्त प्रणाली लागू गरेको जनाएको छ  ।

यसअघि निगमले ०७१ असोजमा पेट्रोल, डिजेल र मट्टीतेलमा स्वचालित प्रणाली लागु गरेको थियो ।  त्यति बेला अन्तर्राष्ट्रिय बजारमा आएको उत्तारचढाव र राजनीतिक हस्तक्षेपका कारण प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुन सकेको थिएन । आइतबार बसेको निगम सञ्चालक समितिले भने अब पूर्ण रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको समितिका अध्यक्ष मधुकुमार मरासिनीले जनाएका छन् ।

nnnnnnnnn

‘स्वचालित प्रणालीमा प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको साथ–समर्थन छ, त्यही भएर सञ्चालक समितिले पूर्ण स्वचालितमा जाने निर्णय गरेको हो,’ स्वचालित मूल्यबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्ति सचिव मरासिनीले भने, ‘मूल्यको हकमा पूरै पारदर्शी छ, निगमलाई रिफर्म गर्नेबाहेक अन्य उद्देश्य केही छैन । सरकारको साथ निगमलाई छ । स्वचालित मूल्यलाई निरन्तरता दिन्छौं ।’ स्वचालित मूल्य कार्यान्वयन गर्न ‘स्वचालित मूल्य प्रणाली–०८०’ स्वीकृत गरिएको उनले जनाए । कार्यविधिअनुसार पूर्वाधार, प्रशासनिक खर्चलगायतका लागि डिजेलमा २ प्रतिशत र पेट्रोलमा २।५ प्रतिशत राखेर पूर्ण स्वचालित गरिनेछ । खाना पकाउने ग्यासमा भने कुनै पनि नाफा खर्च नराखिने मरासिनीको भनाइ छ ।

निगमले उपत्यका लक्षित डिजेलमा प्रतिलिटर ४ रुपैयाँ, पेट्रोलमा ६ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटाएको छ । तराईलगायतको क्षेत्रमा पनि मूल्य समायोजन गरिएको मरासिनीले बताए । ‘अब पूर्ण स्वचालित मूल्यमा गएका छौं, मूल्य बढेर आउँदा बढ्छ,’ उनले भने, ‘मूल्य निर्धारण गर्दा अब समिती संलग्न हुँदैन ।’

भारतीय आयल कर्पोरेसन (आईओसी) ले प्रत्येक अंग्रेजी महिनाको १ र १६ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । त्यसका आधारमा व्यवस्थापनले आफ्नो अधिकार प्रयोग गरेर परल मूल्यको २ प्रतिशतसम्म घटबढ गर्दै आएको थियो । त्योभन्दा बढी गर्नुपरे सञ्चालक समितिबाट निर्णय गरिन्थ्यो । पूर्ण रूपमा स्वचालित प्रणाली लागू भएपछि अब निगम स्वयंले नै निर्णय गर्नेछ ।

सोमबार, ०१ साउन २०८०, ०७ : २५

प्रतिक्रिया